काठमाण्डौ । डिजिटल फर्स्ट बैंकको रणनीति अंगीकार गरी सम्पूर्ण बैंकिङ सेवा तथा सुविधाहरू क्रमिक रुपले डिजिटल माध्यमबाट प्रदान गर्ने दीर्घकालीन लक्ष्य लिइरहेको एनआईसी एशिया बैंकले अब आफ्ना ग्राहकको नाममा विदेशबाट आएको रेमिट्यान्स रकम बैंकको मोबाइल बैंकिङ एपमार्फत सहजै बुझ्न सकिने सेवाको सुरुआत गरेको छ। 

यो सेवा सुरु भएसँगै अब बैंकको मोबाइल बैंकिङ सेवा लिएका ग्राहकले आफूलाई आएको रेमिट्यान्स रकम यसै बैंकमा रहेको निजको खातामा डिपोजिट गर्न सक्नेछन्। डिजिटल कारोबारमा आमग्राहकको उपस्थितिलाई थप प्रोत्साहन गर्नुपर्ने आजको आवश्यकतालाई सघाउ पुग्ने गरी आएको यस सेवाबाट रेमिट्यान्स रकम बुझ्नका लागि एनआईसी एशिया मोबैंकभित्रको रेमिट्यान्स आइकनमा ट्याप गरेर रिसिभ रेमिटभित्र आफूलाई प्राप्त रकम र युनिक पिन राखेपश्चात् उक्त रकम जुनसुकै समयमा आफ्नो खातामा स्थानान्तरण गर्न सकिनेछ। यस सेवापश्चात ग्राहकलाई रेमिट्यान्स रकम बुझ्नकै लागि बैंक उपस्थित भई भौतिक फारम भरी नगद झिक्नुपर्ने बाध्यताबाट मुक्ति मिल्ने विश्वास बैंकले लिएको छ।

एनआईसी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ सञ्जाल भएको बैंकमध्येको बैंक हो। बैंकले मुलुकभर ३६० शाखा कार्यालय, ४७३ एटीएम, १०९ वटा विस्तारित काउन्टर एवं ६५ वटा शाखारहित शाखा सञ्जाल विस्तार गरेको छ। 

देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रुपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन बैंक सफल भएको छ। देशको अर्थतन्त्रको सबलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पुर्याउन उत्तरदायी बैंकिङको अभ्यास गर्दै स्थापनाकालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल रु. १९ अर्ब ९२ करोडभन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा रु. ३ अर्ब ४१ करोडभन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाई समग्र वाणिज्य बैंकमध्ये सबैभन्दा बढी कर दाखिला गर्ने बैंकका रुपमा स्थापित हुन बैंक सफल भएको छ। जुन समग्र देशको अन्य कम्पनीको तुलनामा छैटौँ ठूलो योगदान रहेको कम्पनीमध्येको हो। 

वित्तीय समावेशीकरणका लागि मुगु, कालीकोट, बझाङ, रुकुम, जुम्ला, सल्यानजस्ता बैंक तथा वित्तीय संस्थाको उपस्थिति न्यून रहेका दुर्गम जिल्लामा तथा कुनै पनि बैंक तथा वित्तीय संस्था नपुगेको ३४ भन्दा बढी स्थानीय निकायमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ। देशको कुल जनसंख्याको ८०% भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२% शाखा कार्यालय स्थापना गरेको छ।