काठमाण्डौ । नबिल बैंकले नेपालमा लगानी गर्न खोजिरहेका विदेशी लगानीकर्तालाई सहजीकरण तथा प्रवर्द्धनका लागि लगानी बोर्ड नेपालसँग साझेदारी गरेको छ।

यस सम्झौताअन्तर्गत नबिल बैंकले विदेशी लगानीकर्तालाई वित्तीय सल्लाहकार सेवा प्रदान गर्न, प्रत्यक्ष वैदेशिक लगानी प्रवर्द्धन गर्न र नेपालमा लगानीका अवसर देखाउन विभिन्न प्रवर्द्धनात्मक कार्यक्रममा सहभागिताका लागि लगानी बोर्डसँग सहकार्य गर्नेछ।

नबिल बैंक पूर्वाधार विकासमा विगत ३७ वर्षदेखि नै योगदान गर्दै आइरहेको छ। यसै क्रममा पूर्वाधार विकासमा लगानी बोर्डले विगत १० वर्षदेखि नै निकै सहभागिता र सक्रियता देखाउँदै आएको छ। जसलाई सरकारले पनि अवसरका रुपमा प्रवर्द्धन गर्दै आइरहेको छ।

यो साझेदारीले विदेशी लगानीकर्तालाई आकर्षित गरी नेपालको आर्थिक विकासलाई संयुक्त रुपमा प्रवर्द्धन गर्ने र पूर्वाधार परियोजना, हरित क्षेत्रका अवसर, ऊर्जा क्षेत्रको प्रवर्द्धन तथा यस्तै अन्य पूर्वाधारका कुरा विकास गर्न देशमा दिगो स्रोतको खाडललाई पूरा गर्न नबिल बैंक र लगानी बोर्डको यो सम्झौताले टेवा पुग्नेछ। 

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले समझदारीपत्रमा हस्ताक्षर गरेका छन्। विदेशी लगानी भित्र्याउनका लागि बैंकको महत्वपूर्ण भूमिका रहेको कारण लगानी बोर्डले पहिलोपटक नबिल बैंकलाई साझेदार बनाएको भट्टले बताए। 

त्यसैगरी नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेलले नबिल बैंकले दिगो बैंकिङसँगै दिगो देश बनाउनमा पनि ध्यान दिएको बताए। 

नबिल बैंक लगानी बोर्डको औपचारिक वित्तीय सल्लाहकार बैंकका रुपमा सम्झौता गर्न पाउँदा बैंक गौरवान्वित रहेको प्रमुख कार्यकारी अधिकृत शाहले बताए। 

सन् १९८४ देखि आफ्ना ग्राहकलाई समायनुकूल सेवा प्रदान गर्दै आएको नबिल बैंकको १५० शाखा, १८७ एटीएम र १५०० भन्दा बढी नबिल रेमिट एजेन्ट रहेका छन्। नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुआत गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुंगाका रुपमा काम गर्दै आएको छ।