काठमाण्डौ । नेपालको अग्रणी आईटी कम्पनी इन्फोडेभलपर्सले आयोजना गरेको विन्टर इन्टेक कोड क्याम्प सुरु भएको छ।
आइएमई पे, स्विफ्ट टेक्नोलोजी, मिदास टेक्नोलोजी र रिगो टेक्नोलोजीसँगको सहकार्यमा विन्टर इन्टेक कोड क्याम्प आज आइतबारबाट हेरिटेज गार्डेनमा एक कार्यक्रमको आयोजना गरी सुरु भएको हो। कार्यक्रममा २०० बढी विद्यार्थीको सहभागिता छ।
आईटी उद्योग र एकेडेमिया बीचमा देखिएको ग्यापलाई कम गर्ने उद्देश्यअनुरुप आयोजना गरिएको कार्यक्रममा गत पुस २ गतेदेखि १६ गतेसम्म रजिस्ट्रेसन आह्वान गरिएको थियो। कोड क्याम्पका लागि ४०० बढी विद्यार्थीको आवेदन दिएका थिए।
पहिलो चरणबाट २०० बढी विद्यार्थी छानिएर रुचि भएको प्रोग्रामिङको समूहमा सहभागी भएर प्रोजेक्ट तयार गर्नेछन्। यसपश्चात छनौटमा परेका १०० प्रतिस्प्रर्धीहरु स्किल डेभलपमेन्ट कार्यक्रममा सहभागी हुने अवसर प्राप्त गर्नेछन्। उनीहरुलाई माघ ३ गतेदेखि चैत ३ गतेसम्म २ महिना कम्पनीमा रहेर इन्टेक ट्रेनिसिप कार्यक्रममा सहभागी गराइने आयोजकले जानकारी दिएको छ।
चैत १७ गतेदेखि आयोजक कम्पनीहरुले उत्कृष्ट ५० देखि १०० विद्यार्थीलाई नियमित रुपमा रोजगारीको अवसर प्रदान गर्नेछन्।
आईटी उद्योग र एकेडेमीकबीचको एक महत्वपूर्ण सहकार्य र दायित्वका रुपमा यो कार्यक्रम विकास गरिएको आयोजक इन्फोडेभलपर्सका प्रमुख कार्यकारी अधिकृत उमेश रघुवंशीले बताए। यसले नेपालको डिजिटल इकोसिस्टमको विकासमा पनि सघाउ पुर्याउने उनको भनाइ छ।
आईटी उद्योगमा पछिल्लो समय दक्ष जनशक्तिको अभाव भइरहेको कारण आईटी कम्पनीहरुले यस किसिमको कार्यक्रमको आयोजना गरेर दक्षता विकास गर्दै अवसर प्रदान गर्नु अत्यन्त राम्रो काम भएको क्यान महासंघका पूर्वअध्यक्ष तथा ग्रिन आईटी सोलुसनका अध्यक्ष विनोद ढकालले बताए।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै स्विफ्ट टेक्नोलोजीका सीईओ रघु भण्डारीले नयाँ प्रतिभाहरु पहिचान गर्दै रोजगारीको अवसर सिर्जना गर्ने उद्देश्यसहित विन्टर इन्टेक कोड क्याम्प आयोजना भएको जानकारी दिए।
कार्यक्रममा काठमाण्डौ, ललितपुर र भक्तपुर जिल्लाका ४० बढी कलेजका विद्यार्थीको सहभागिता छ। सातौँ तथा आठौँ सेमेस्टरमा अध्ययनरत विद्यार्थीका लागि तयार पारिएको यो कार्यक्रममा सहभागी हुन पाउनु महत्वपूर्ण उपलब्धि भएको विद्यार्थीहरुले बताएका छन्।
क्याम्पमा सहभागी विद्यार्थीले आईटी उद्योगमा चर्चित प्रोग्रामिङ ल्याङ्वेज र डिजाइनमा समेत आफ्नो सिप देखाउँदै थप सिक्ने अवसर प्राप्त गर्नेछन्।
क्याम्पमा जाभा, रियाक्ट, डटनेट, एंगुलर, लाराभेल, एन्ड्रोइड तथा आईओएस एप डेभलपमेन्ट, एआई, डेटाबेस, यूएक्सय्रआई डिजाइन, ग्राफिक्स डिजाइन, पाइथन, फ्लटर, पीएचपी, बिजनेस एनालिस्टलगायतमा छुट्टाछुट्टै समूह बनाएर ट्रेनिसिप प्रदान गरिनेछ। यसका लागि हरेक समूहको टिम लिडर आईटी कम्पनीमा नै काम गरिरहेका सिनियर एक्सपर्ट रहेका छन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago