काठमाण्डौ। लिभिङ विथ आइसिटी र आइसिटी फाउन्डेसन नेपालको सहकार्यमा वैशाख ५ गते प्रदेश नं. १ मा स्टार्टअप एण्ड आइडिया फेस्ट र डिजिटल संवाद कार्यक्रमको आयोजना हुने भएको छ।

प्रदेशको मुख्य सहर विराटनगरको उद्योग संगठन मोरङमा सोमबार उक्त कार्यक्रम आयोजना हुनेछ। सातै प्रदेशमा आयोजना भइरहेको ‘इबिमा स्टार्टअप एण्ड आइडिया फेस्ट पावर्ड बाई यार्साल्याब’ र ‘ह्वावे डिजिटल प्रदेश संवाद’ कार्यक्रममा आइटीका स्टार्टअप, इन्नोभेटर, उद्यमी, प्रदेश सरकार, स्थानीय सरकारका प्रतिनिधी, सरोकारवाला र बिद्यार्थीहरुको उपस्थिति रहनेछ।

बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म आयोजना हुने कार्यक्रममा विभिन्न ३ फरक सेसनहरु सञ्चालन हुनेछन्। विहान ११ बजेदेखि साँझ ४ बजेसम्म स्टार्टअप, इन्नोभेसन तथा आइडिया प्रदर्शनीको कार्यक्रम रहनेछ भने छुट्टै हलमा १२ बजेदेखि ३ बजेसम्म आइडिया पिचिङ एन्ड मेन्टरिङ सेसन सञ्चालन हुनेछ। त्यसैगरी बेलुकी ३ देखि ६ बजेसम्म डिजिटल प्रदेश संवाद कार्यक्रमको आयोजना हुनेछ। जसमा प्रदेश सरकारका मन्त्री, योजना आयोगका उपाध्यक्ष, स्थानीय जनप्रतिनिधि, सरोकारवाला र विज्ञहरु उपस्थिति रहनेछ। 

सातै प्रदेशमा आयोजना भइरहेको कार्यक्रम यसअघि पोखरा, बुटवल र विरगञ्जमा सम्पन्न भइसकेको छ।