पोखरा । मतदानको मिति आउन तीन दिन मात्र बाँकी छँदा चुनावी सरगर्मी र पार्टीहरुको अवस्था बुुझ्दै पोखरा पुुगेका हामीले कांग्रेस र एमालेका नेता तथा कार्यकर्तालाई अन्तरघातको त्रासले निकै पीडित बनाएको देखियो । दुवै पार्टीका नेता तथा कार्यकर्ताहरुले आफ्नो दलले जित्ने दाबी गरे पनि आन्तरिक रुपमा कुन स्तरसम्मको अन्तर्घात हुन्छ या हुँदैन, यसैमा जितहार निर्भर रहेकोसम्म पनि भन्न भ्याए । 

‘आफ्नैको असहयोग र अन्तरघातका कारण चुनाव हारिने हो कि भन्ने त्रासले हामीलाई भित्रभित्रै खाइरहेको छ ।’ 

एमालेभन्दा पोखरामा कांग्रेस बढी समस्याग्रस्त देखियो । कांग्रेसभित्र अन्तरघात निकै ठूलो स्तरमा हुने र त्यसले एमालेलाई फाइदा पुुग्ने प्रष्टै देखियो । अघिल्लो दिनसम्म मेयरमा एउटाको नाम चर्चामा ल्याएर रातारात रामजी कुँवरलाई टिकट दिइएपछि उत्पन्न असन्तुष्टिलाई कांग्रेसले व्यवस्थापन गर्न नसकेको देखियो । यो कुरा कांग्रेसभित्रकै अगुवा स्थानीय नेताहरुले विश्लेषण गर्ने क्रममा खुलाए, केही नेताले खुलेरै जोडघटाउको हिसाब समेत गरेर देखाए । 

कांग्रेस नेताहरुको भनाईमा कांग्रेस–माओवादी तालमेलको प्रयोग पोखरामा समेत असफल भइसकेको छ । स्थलगत अध्ययनको क्रममा केन्द्रबाट चुनावी तालमेल भए पनि पोखरामा कांग्रेस र माओवादीबीचको तिक्तता तथा पानी बाराबार अवस्था भरतपुरको भन्दा पनि गम्भीर देखियो । भरतपुरमा रेणुु दाहालका लागि खुलेआम भोट माग्दै र माइकिङ गर्दै कांग्रेस कार्यकर्ता समेत हिँडेका देखिएको थियो । तर, पोखरामा यस्तो सहकार्यको कुनै संभावना नै देखिएन । चुनावी तालमेल भने पनि सानोभन्दा सानो कार्यक्रम पनि कांग्रेस र माओवादीको अलग–अलग देखियो । 

त्यति मात्र होइन, पोखरामा कांग्रेसका मेयर उम्मेद्वारलाई माओवादीले सहयोग गर्ने र त्यसको बदला माओवादीको उपमेयर पदका उम्मेद्वारलाई सघाउनुुपर्ने माओवादी शर्त कांग्रेसले पालना नगरेको देखियो । यहीकारण, कांग्रेस तालमेलको कुरालाई पर सारेर चुनावी अभियानमा मेयरमा रामजी कुँवर र उपमेयरमा सरस्वती गुरुंगलाई नै भोट माग्दै हिँडिरहेको छ । यसले माओवादीका प्रतिबद्ध भोटरहरुलाई समेत रुष्ट पारिदिएको छ । यहीकारण माओवादीले उपमेयर र वडाअध्यक्ष तथा सदस्यहरुको आफ्नो छुट्टै टिम बनाएर चुनावी अभियान संचालन गरेको देखियो । 

यता, कांग्रेसको संस्थागत चुनावी प्रचार अभियानमा समेत रामजी र सरस्वतीलाई नै समेटिएको छ । यसको अर्थ माओवादीसँगको तालमेल यहाँ फेल भइसकेको छ भन्ने हो । यहीकारण, माओवादीले पनि आफ्नो प्रचार सामाग्रीमा रामजी कुँवरका लागि कुनै स्थान दिएको देखिएन । पर्चा पम्प्लेटदेखि लिएर माइकिङसम्ममा पनि माओवादी कार्यकर्ताले रामजी कुँवरको नाम नसमेटेका पाइएको छ । 

पोखरामा कांग्रेस र माओवादीबीच देखिएको पानी बाराबारको यही अवस्थाका कारण कांग्रेस निकट बुद्धिजीवीहरु नै पनि माओवादीबाट आफ्ना मेयरका उम्मेद्वारलाई भोट नआउने बिश्लेषण गर्दा रहेछन् । 

‘माओवादीहरु इमानदार छैनन् । उनीहरुले हाम्रा मेयरका उम्मेद्वारलाई भोट हाल्छन् भन्ने हामीलाई विश्वास छैन ।’ रामजी कुँवरको चुनावी अभियानको अगुवाई गर्दै आएका प्राध्यापक तथा पुराना कांग्रेस नेताले भने–‘यहीकारण हामी कांग्रेस आफ्नै मतले जित्ने अभियानमा लागेका छौ, हाम्रो चुनावी रणनीति पनि त्यही छ ।’ उनको भनाईमा माओवादीसँगको तालमेलका कारण कांग्रेसको जित अन्यौलमा परेको हो । ‘तालमेल थिएन भने राप्रपासहित ४ ठूला पार्टीको उम्मेद्वार हुने, त्यसमा पनि एमालेलाई आउने भोट समेत माओवादी उम्मेद्वारले काटिदिने र त्यसले कांग्रेसलाई फाइदा पुुग्थ्यो ।’ उनले थपे ।   

ती नेताको भनाईमा उम्मेद्वार छनौटका कारण निकै ठूलो तप्का असन्तुुष्ट रहेको र सो समूहले रामजी कुँवरलाई चुनावी प्रचार अभियानमा निरन्तर असहयोग गरिरहेका कारण आफ्नैबाट चाहि अन्तरघात हुने हो कि भन्ने त्रास अहिले व्याप्त छ । ‘कांग्रेसका धेरैले एमाले वा राप्रपालाई भोट हाल्दैछन् ।’ ती नेताले भने–‘कतिपय नेताहरु चाहि असन्तुुष्ट भई मतदानमै सहभागी नहुने रणनीतिमा छन् । आउने मत पनि आएन भने त कांग्रेसलाई जित्न गाह्रो हुनेछ ।’ 

कांग्रेस नेताहरुकै विश्लेषणमा समेत पोखरा लेखनाथ महानगरपालिकाका ३३ वटा वडामध्ये १५ वडाको अध्यक्षमा मात्र पार्टीले जित हात पार्ने अवस्था छ । बाँकी १८ वडामा चाहि एमालेले एकलौटी जित हासिल गर्ने उनीहरु बताउँछन् । ‘संविधानसभा निर्वाचनको अवस्था हेर्ने हो भने त पोखराको स्थानीय निर्वाचन पनि एमालेले नै जित्ने देखिन्छ ।’ ती पुराना कांग्रेस नेताले भने–‘माओवादीको मेयरतर्फको उम्मेद्वार नभएका र उनीहरुले कांग्रेसको मेयरलाई मत नहालेपछि बरु जात मिल्ने र कतिपय एजेण्डा मिल्ने एमालेलाई भोट हाल्नेछन्, यसले कांग्रेसलाई थप क्षति पुुग्नेछ ।’ 

पोखरा लेखनाथ महानगरपालिकामा सुकुम्बासीहरुको भोट संख्या निकै ठूलो छ । ती कांग्रेस नेताको बुुझाईमा सुकुुम्बासी बस्तीहरुमा माओवादी पकड राम्रो छ । कांग्रेस उम्मेद्वारलाई भोट नदिने रणनीति बनाएपछि सुकुुम्बासीहरुले एमालेलाई भोट हाल्नेछ । यदि यस्तो भयो भने एमालेले जित हासिल गर्ने ती नेताको बुुझाई छ । 

तर, ती कांग्रेस नेताले माओवादी कांग्रेसजस्तो मास बेस्ड नभई क्याडर बेस्ड पार्टी भएकोले तालमेलको सहमति अनुसार गति नछाडे कांग्रेसले जित्ने दाबी गरे । ‘महानगरको १ लाख ६८ हजार भोटमध्ये माओवादीको ८ हजार पनि छैन ।’ उनले भने–‘८ हजारमा हाम्रा मेयरका उम्मेद्वारलाई ३ हजार मात्रै आयो भने पनि हामी चुनाव जित्छौ ।’ 

यो क्षेत्रमा संविधानसभा निर्वाचनमा ७२ प्रतिशत मत खसेको थियो । यसपटक पनि ७० प्रतिशतको हाराहारीमा मत खस्ने र त्यसमा ५२ देखि ५५ हजारसम्म मत ल्याउनेले मेयरमा जित हासिल गर्ने ती नेताको भनाई छ । पार्टीभित्रबाट अन्तरघात नभए ५० हजार मत सजिलै आउने र माओवादीबाट भोट आए सजिलै जित्न सकिने कांग्रेस नेताहरुको बुुझाई रहेको छ । 

उता, एमालेका स्थानीय नेताहरु भने पोखरा लेखनाथ महानगरपालिकामा ६० प्रतिशत मत ल्याएर जित्ने दाबी गरिरहेका छन् । एमालेभित्रै पनि उम्मेद्वार छनौटको बिषयमा वडा–वडामा असन्तुष्टि रहेको छ । ‘चुनावी अभियानमा वडामा उठ्न नपाएका कार्यकर्ताहरुले उम्मेद्वारहरुलाई सहयोग नगर्ने, घरैबाट बाहिर ननिस्किने जस्ता असहयोग पनि गरिरहेका छन् । एमाले कास्कीका एक जिल्ला सदस्यले भने–‘यस्तै अन्तर्घात भयो भने एमालेलाई पनि जित्न गाह्रो छ ।’ यदि एमालेभित्र अन्तर्घात भएन भने र माओवादी र कांग्रेसभित्रको असन्तुष्टहरुबाट पनि मत आयो भने एमालेको शानदार जित हुने उनको भनाई छ । 

ती नेताले एमालेका जिल्ला र केन्द्रीय नेताहरुले असन्तुष्टि बेलैमा व्यवस्थापन नगर्दाको परिणाम निकै ठूलो घाटा बनेर आउनसक्ने भन्दै चिन्ता समेत प्रकट गरे । ‘अझै पनि ३ दिन छ, यो अवधिमा समेत कहाँ–कहाँ, कसले–कसले असहयोग गर्यो भनेर खोजी गरी असन्तुष्टिको व्यवस्थापन गर्न सकिन्छ ।’ ती नेताले भने–‘आफ्नैको असहयोग र अन्तरघातका कारण चुनाव हारिने हो कि भन्ने त्रासले हामीलाई भित्रभित्रै खाइरहेको छ ।’