काठमाण्डौ। शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडले आईएमई लिमिटेडसँगको सहकार्यमा आफ्नो मोबाइल बैंकिङ (डिजी शाइन) एपमा आईएमई रेमिट्यान्स सुविधालाई एकीकृत गरेको छ। 

ग्राहकले अब कुनै पनि समयमा आईएमई रेमिट्यान्सको रकम सीधै आफ्नो बैंक खातामा प्राप्त गर्न सक्नेछन्। जसले गर्दा बैंकमा वा आईएमई रेमिट्यान्स संकलन गर्ने शाखामा गई लाममा उभिनु पर्दैन।

आधुनिक बैंकिङलाई आत्मसाथ गर्दै डिजिटल बैंकिङलाई प्राथमिकतामा राखेको बैंकले ग्राहकलाई बैंकमा उपस्थित नभईकन पनि अनलाइनबाटै रेमिट्यान्स रकमको भुक्तानी लिन सकिने यस व्यवस्थाले धेरै नै लाभान्वित हुने विश्वास बैंकले लिएको छ। 

यसअघि शाइन रेसुंगाले आफ्नो मोबाइल बैंकिङ एपमा इसेवा रेमिट्यान्स (ईएमटी) सेवालाई पनि एकीकृत गरेको थियो। जसले गर्दा ग्राहकले आफ्नो मोबाइल बैंकिङ एपमार्फत रेमिट्यान्स प्राप्त गर्न सक्दथे। आगामी दिनमा शाइन रेसुंगाले अन्य रेमिट्यान्स सेवाहरु पनि एकीकृत गर्ने योजना बनाएको छ। 

सन् २००१ मा स्थापित आइएमई विप्रेषण सेवा प्रदायक नेतृत्वदायी रेमिट्यान्स कम्पनी हो। जसले आजभन्दा २२ वर्षअघि औपचारिक माध्यामबाट पहिलोपटक नेपालमा विदेशी मुद्रा भित्र्याउने कार्यको थालनी गरेको थियो। 

काठमाण्डौको पानीपोखरीमा केन्द्रीय कार्यालय रहेको यस कम्पनीले अमेरिका, मलेसिया, बेलायत, अष्ट्रेलिया, युएइ, कतार, साउदी अरव,  जापान र भारत लगायतका मुलुकहरुबाट विभिन्न अन्तर्राष्ट्रिय बैंक तथा वित्तीय संस्थासँगको सहकार्यमा रेमिट्यान्स भित्र्याउँदै आएको छ। आइएमई मुख्यतः विश्वव्यापी रूपमा विप्रेषणको कारोबार गर्ने एवं विदेशमा रहेका नेपालीहरुले दुःख गरी आर्जन गरेर पठाएको रकम सुरक्षित तरिकाले नेपालमा रहेका आफन्तसम्म पुर्याउने माध्यम हो। अहिले विश्वव्यापी रुपमा आइएमईको ३५ भन्दा बढी देशमा १ लाख ५० हजारभन्दा बढी भुक्तानी केन्द्र तथा  लाखौँ सन्तुष्ट ग्राहक आबद्घ छन्। यसर्थ आईएमई रेमिट्यान्स सेवाको पर्यावाची नाम हो। 

रेमिट्यान्स अहिले नेपाली अर्थतन्त्रको मेरुदण्ड सावित भएको छ। गत आर्थिक वर्ष २०७९–८०  को तथ्यांकअनुसार कुल ग्राहस्थ उत्पादनमा झन्डै २८ प्रतिशतबराबर रेमिट्यान्समार्फत योगदान रहेको छ। आईएमईले नेपालको कुल रेमिट्यान्सको झन्डै ३० प्रतिशतको हाराहारीमा योगदान दिने गरेको छ। यस अर्थमा पनि राष्ट्रिय अर्थतन्त्रको योगदानमा आईएमईको विशिष्टकृत सम्बन्ध छ। त्यसैले आईएमईलाई समग्र विप्रेषण व्यवसायलाई संस्थागत गरेको श्रेय जान्छ। 

आईएमईले भरपुर रुपमा उच्चतम प्रविधिको प्रयोग गरेर आईएमई रेमिटको अनलाइन मनी ट्रान्सफर सिस्टममार्फत रकमान्तर गर्दै आइरहेको छ। यसको प्रयोगबाट एकातिर सेवाग्राहीले छिटो र सजिलै सेवा प्राप्त गरिरहेका छन् भने अर्कोतिर प्रविधिको प्रयोगले सूचनाहरु गोप्य र व्यवस्थित राख्न सरल पनि भएको छ। जसका कारणबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनअनुसार सञ्चालन गर्न र नियमन गर्न पनि सजिलो हुन्छ। आईएमईले अन्तर्राष्ट्रियतर्फ नगद भुक्तानी तथा तुरुन्तै बैंक खातामा डिपोजिट गर्नेजस्ता सेवाहरुको विकास गरी कार्य सञ्चालन गरिरहेको छ।   

नेपालमा क्रियाशील बैंक तथा वित्तीय संस्था, सहकारी एवं निजी साझेदारसँगको सहकार्यमा १२ हजारभन्दा बढी भुक्तानी काउन्टर र २१६ आईएमई सेन्टर सञ्चालनमा छन्।  बैंकिङ सेवाबाट वञ्चित देशका विभिन्न ग्रामीण क्षेत्रमा समेत आईएमईले ४ हजारभन्दा बढी सहकारी संस्थासँग सहकार्य गरी आफ्नो सेवालाई प्रभावकारी तरिकाले सञ्चालन गर्दै आइरहेको छ।