काठमाण्डौ । वीरगन्जमा चेम्बर अफ कमर्सको तदर्थ समिति गठन गरिएको छ। 

मनोज उपाध्यायको संयोजकत्वमा वीरगन्ज चेम्बर अफ कमर्स पर्साको ९ सदस्यीय तदर्थ समिति गठन गरिएको हो। समितिका सदस्यमा मुकेश अग्रवाल, विकास अग्रवाल, रविकुमार, विशाल कर्नानी, पारश अग्रवाल, शम्भु अग्रवाल, विशाल पटवारी, अमित मस्कारा रहेका छन्। 

तदर्थ समिति गठन कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले व्यावसायिक हकहित तथा आर्थिक समृद्धिका लागि एकजुट भएर लाग्न व्यवसायीलाई आग्रह गरे। नेपाल चेम्बर अफ कमर्सले ७० औँ वार्षिकोत्सव मनाइरहेको सन्दर्भमा मुलुकको आर्थिक विकासमा निजी क्षेत्रको भूमिका उल्लेखनीय रहेको उनले बताए। ‘सरकारले अघि सारेको समृद्ध नेपाल सुखी नेपाली महाअभियानको हामी सारथी हौँ’, उनले भने, ‘यो यात्रामा हातेमालो गर्दै अघि बढ्न चाहान्छौँ।’ 

यसैबीच अध्यक्ष श्रेष्ठले हरिवन चेम्बर अफ कमर्स सर्लाहीको भवन शिलान्यास पनि गरेका छन्। श्रेष्ठले चारआना जग्गामा बन्न लागेको हरिवन चेम्बरको भवन शिलान्यास गरेका हुन्। 

हरिवन चेम्बरका महासचिव टीआर लुइँटेलले चन्दा संकलनलगायतबाट भवन निर्माण सम्पन्न गरिने बताए। हरिवन चेम्बरले प्रथम साधारण सभाबाट नयाँ कार्यसमिति चयन गरी पदस्थापन तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न गरेको छ। हरिवन चेम्बरले ३६ सदस्यीय कार्यसमिति चयन गरेको छ। हाल यसमा २८४ जना सदस्य छन्। 

यस्तै महोत्तरी चेम्बर अफ कमर्सको नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई अध्यक्ष श्रेष्ठले प्रमाण्पत्र वितरण गरेका छन्। बर्दिवासमा आयोजित कार्यक्रममा नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई उनले प्रमाणपत्र वितरण गरेका छन्। 

यसैबीच नेपाल चेम्बर अफ कमर्सको ७० औँ वार्षिकोत्सवको अवसरमा बारामा व्यवसायीहरूबीच परिचयात्मक भेटघाट भएको छ। बारामा चेम्बरको जिल्ला कमिटी र तीनवटा स्थानीय तहमा कमिटीहरू गठन भएका छन्। 

मकवानपुर चेम्बर अफ कमर्सले पनि शुक्रबार स्थानीय व्यवसायीहरूसँग अन्र्तक्रिया सम्पन्न गरेको छ।