काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रत्यक्ष वैदेशिक लगानीका लागि चीन नेपालको सबैभन्दा ठूलो स्रोत रहेको बताएका छन्। 

चीनको बेइजिङमा आज आयोजित नेपाल–चीन बिजनेस समिटमा अध्यक्ष ढकालले यस्तो धराणा राखेका हुन्।

 ‘नेपाल र चीनबीच सदियौँदेखि नजिकको छिमेकी सम्बन्ध रहेको छ, दुवै देशको व्यापार सम्बन्ध पनि बढ्दै गइरहेको छ’। उनले भने, ‘चीन नेपालमा प्रत्यक्ष वैदेशिक लगानीको सबैभन्दा ठूलो स्रोत पनि हो।’ 

आर्थिक सहकार्य र रणनीतिका लागि यो समिटले महत्वपूर्ण भूमिका खेल्ने अध्यक्ष ढकालले बताए। यो समिटले दुवै देशका लगानीकर्तालाई एकै ठाउँमा लगानी, व्यापार र प्रविधिको आदान गर्ने अवसर मिलेको उनको भनाइ थियो। ‘यो समिट दुवै देशका लागि लाभदायक हुनेमा म विश्वस्त छु’, उनले भने। 

प्रधानमन्त्री पुष्पकमल दाहालको नेपालमा व्यापार–व्यवसायको वातावरण बनाउन सक्रियता बढेको ढकालले बताए। नेपाल विदेशी मुद्राको सञ्चित, शोधानान्तरण स्थितिलगायत बाह्य क्षेत्रको अवस्थामा निकै सहज बनेको ढकालले बताए। ‘विदेशी मुद्राको सञ्चिति १२ महिना आयात धान्नसक्ने अवस्थामा छ’, उनले भने। 

छिमेकी दुई ठूला मुलुकको तुलनामा नेपाल सानो देखिए पनि जनसंख्याको हिसाबले विश्वमा ४९ औँ ठूलो राष्ट्र रहेको ढकालले बताए। ‘पछिल्लो २५ वर्षमा नेपालमा गरिबीको रेखामुनि रहेकाहरुको संख्या ३८ प्रतिशतबाट घटेर १७ प्रतिशतमा झरेको छ’, उनले भने।