काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले बुधबारदेखि थप तीनवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। नयाँ शाखाहरु सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २८६ पुगेको छ।

बैंकले काठमाण्डौ महानगरपालिकाको महाराजगन्ज, नरेफाँट र चण्डोलमा एकैसाथ तीन नयाँ शाखाहरु सञ्चालनमा ल्याएको हो। नयाँ शाखाहरुबाट बुधबारदेखि नै सम्पूर्ण बैंकिङ सेवाहरु उपलब्ध हुने बैंकले जनाएको छ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले ग्लोबल आइएमई बैंकले देशका ७६ जिल्लामा फैलिएको २८६ शाखा सञ्जालसहित २५२ एटीएम, ४८ एक्सटेन्सन काउन्टर तथा राजश्व संकलन काउन्टर, २६२ शाखारहित बैंकिङ सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि/सम्पर्क कार्यालयमार्फत आफ्ना २७ लाखभन्दा बढी ग्राहकमाझ सेवा प्रदान गर्दै आइरहेको छ।