काठमाण्डौ ।  श्रीलंकन परराष्ट्रमन्त्री मोहम्मद उभियास मोहम्मद अली साब्रीले  प्रसिद्ध पर्यटकीय गन्तव्य चन्द्रागिरीको अवलोकन गरेका छन् ।

नेपाल भ्रमणका क्रममा रहेका उनी शुक्रबार अपरान्ह चन्द्रागिरी पुगेका थिए । चद्रागिरी हिल्सका अध्यक्ष हेमराज ढकालले उनलाई स्वागत गरेका थिए ।उक्त अवसरमा अध्यक्ष ढकालले मन्त्री साब्रीलाई त्यहाँको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्वका बारेमा जानकारी गराएका थिए ।

कम्पनीका निमित्त महाप्रबन्धक श्याम तण्डुकारका अनुसार परराष्ट्रमन्त्री साब्री खुलेको आकाश, लहरै देखिएका सुन्दर हिमालका दृश्यले निकै मोहित भएका थिए भने उनी सो क्षेत्रका विभिन्न स्थानबाट सेल्फी खिच्दै रमाएका थिए ।

चन्द्रागिरि हिल्स दक्षिण एशियाकै एक महवपूर्ण पर्यटकीय र धार्मिक गन्तव्यका रुपमा परिचित छ । यसअघि पनि विभिन्न देशका सरकार प्रमुख तथा राष्ट्राध्यक्षका साथै अन्तरराष्ट्रिय व्यक्तित्वहरुले चन्द्रागिरि हिल्स केबलकार चढ्नुका साथै सो क्षेत्रको अवलोकन गरिसकेका छन् ।