काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमीटेड र कर्मचारी सञ्चयकोषबीच कर्मचारी सञ्चयकोषका ऋणिहरुले लिएको ऋणको साँवा तथा ब्याज कनेक्ट आइपिएसमार्फत भुक्तान गर्नसक्ने गरी सहमति भएको छ । 

कर्मचारी सञ्चयकोषबाट कर्जा लिएका ऋणिहरूले साँवा र ब्याजसहितको किस्ता रकम बिद्युतीय माध्यमबाट भुक्तानी गर्नसक्ने गरी भएको सम्झौतापत्रमा माछापुच्छ्रे बैंक लिमीटेडका नायब महाप्रबन्धक विश्वम्भर न्यौपाने तथा कर्मचारी सञ्चयकोषको तर्फबाट चिफ म्यानेजर अर्जुन कुमार गौतमले हस्ताक्षर गरेका थिए । 

सम्झौतापछि अब जुनसुकै बैंक तथा वित्तीय संस्थाहरूमा खाता भएका कर्मचारी सञ्चयकोषका ऋणिहरूले कनेक्ट आइपिएस अनलाइन पोर्टलमा लगइन गरेपश्चात् गभर्मेन्ट पेमेन्टअन्र्तगत कर्मचारी सञ्चयकोषको आइकनमा क्लिक गरी भुक्तानी प्रक्रिया सुरु गर्न सक्नेछन् ।

नयाँ व्यवस्थाअनुसार बैंक नपुगी जुनसुकै ठाउँबाट विद्युतीय माध्यमबाट उक्त किस्ता रकम सजिलै भुक्तानी गर्न सकिनेछ । 

स्थापनाकालदेखि नै नयाँ–नयाँ प्रविधिमा आधारित सेवासुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंक लिमीटेडले पुर्व देखि पश्चिम साथै हिमालदेखि पहाड, र तराईसम्म आफ्ना १५९ वटा शाखाहरु, १३४ शाखारहित बैंकिङ सेवा समेत गरी जम्मा २९३ स्थानमा रहेका सेवा सञ्जाल तथा १९८ वटा एटीएमहरु तथा १ हजारभन्दा बढी पिओएसमार्फत सेवा दिइरहेको छ ।