काठमाण्डौ । नेपालमा पहिलो पटक इलेक्ट्रिक सवारी साधनलाई समेटेको राइड शेयरिङ एप ‘ई-ड्राइभ नेपाल’ सञ्चालनमा आएको छ। 

ई-ड्राइभ नेपाल कम्पनी प्रालिले १४ करोड रुपैयाँको लगानीमा इलेक्ट्रिक ट्याक्सी र स्कुटरबाट सेवा शुरु गरेको हो।  अन्य सेवाभन्दा सस्तो, नयाँ गाडी, दुर्घटना बीमा, ओपीटी र जीपीएस प्रणाली जडान गरी निकै सुरक्षित प्रविधिका साथ सञ्चालनमा ल्याइएकोले ई-ड्राइभ नेपाल एप सेवाग्राहीको आकर्षण हुने कम्पनीले जनाएको छ। 

बिहीबार नेकपा (एमाले)  सांसद महेश वर्तौलाले रिवन काटेर तथा बाग्मती प्रदेशका उपसभामुख अप्सरा चापागाँई र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हरियो झन्डा फहराएर ई-ड्राइभ एप र ट्याक्सी सेवाको उद्घाटन गरेका छन् ।
उक्त अवसरमा साँसद बर्तौलाले इलेक्ट्रिक्स गाडिको प्रयोगले नेपालको विद्युतको खपत हुने, वातावरण संरक्षण हुने र पेट्रोलको खरिदमा अर्बौं रुपैयाँ विदेशिनबाट जोगिने बताए ।

सेवा उद्घाटनपछि ५२ वटा नयाँ इलेक्ट्रिक्स ट्याक्सीले टुंडिखेलको एक चक्कर लगाएको थियो।

हाल कम्पनी २० वटा ट्याक्सी सञ्चालनमा ल्याइसकेको छ भने थप १०० वटा ट्याक्सी सञ्चालन गर्ने तयारीका लागि खरिद प्रक्रिया अन्तिम चरणमा पुगिसकेको बताएको छ ।

साथै ई-ड्राइभको अभियानमा नेपालमा रहेका अन्य इलेक्ट्रिक सवारी साधनहरू पनि क्रमश: जोडिंदै जाने कम्पनीले जनाएको छ।

कम्पनीका अध्यक्ष राजेश मास्केले सेवाग्राहीलाई सुविधासहित सुरक्षित रूपमा गन्तव्यमा पुर्‍याउनु ईड्राइभ नेपालको उद्देश्य रहेको बताए ।