काठमाण्डौ । सिटिजन्स बैंकको सहायक कम्पनीको रुपमा रहेको सिबिआईएल सेक्यूरिटिजले आइतबारदेखि धितोपत्र कारोबार सम्बन्धि सेवा सुरु गरेको छ ।

एक समारोहका बीच सिटिजन्स बैंकको सञ्चालक समितिका अध्यक्ष प्रबल जंग पाण्डेले सो सेवाको उद्घाटन गरी कम्पनीको टिएमएस सेवा सञ्चालनमा ल्याएका हुन् । सो अवसरमा अध्यक्ष पाण्डेले संस्थाको पूर्ण सफलताको कामना गर्दै धितोपत्र बजारमा सिबिआईएल सेक्यूरिटिजले आफनो छुट्टै पहिचान बनाउने अपेक्षा गरेको बताए ।

यसैगरी, सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले सिटिजन्स बैंकको पूर्ण स्वामित्वमा खोलिएको पहिलो संस्था भएको र आगामी दिनहरुमा अरु विभिन्न किसिमका सेवा सुविधाहरु ग्राहकहरु माझ ल्याउने गरि थप संस्थाहरुको स्थापना गर्ने योजना रहेको बताए । 
यो कम्पनीले ललितपुरको कुपन्डोलस्थित भवनबाट सेवा सञ्चालनमा ल्याएको छ । 
कार्यक्रममा सिटिजन्स बैंकका सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृत र उच्च व्यवस्थापनलगायत उक्त सेक्यूरिटिजका सञचालकहरु, कम्पनीका कर्मचारीहरुको उपस्थिति थियो ।

कम्पनीले निकट भविष्यमा देशका विभिन्न प्रदेशहरुमा शाखा खोली ग्राहकहरुलाई उच्चस्तरको धितोपत्र दलाल सेवा प्रदान गर्ने उद्देश्य लिएको बताएको छ ।
 
कम्पनीले नेपाल धितोपत्र वोर्डवाट गत साउन ३२ गतेका दिन र नेपाल स्टक एक्सचेन्जवाट गत असोज २९ गतेका दिन धितोपत्र दलाल नं.९१ सदस्यता प्राप्त गरेको थियो ।