काठमाण्डौ । सनराइज बैंकले आफ्नो १३ औँ वार्षिकोत्सवका अवसरमा शुक्रबार नेपाल बाल संगठनद्वारा सञ्चालित बाल मन्दिरलाई १ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ।

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकको प्रमुख कार्यालय गैरीधारामा भएको एक कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले बाल मन्दिरकी अध्यक्ष विद्या उपाध्याय न्यौपानेलार्ई उक्त रकमबराबरको चेक हस्तान्तरण गरेका हुन्। बैंकले सधैँझै आफ्नो वार्षिकोत्सवमा नेपाल बाल संगठनलाई आवश्यक खाद्यसामग्री, लत्ताकपडालगायत वितरण गर्दै आएकोमा यस वर्ष कोभिड–१९ को कठिन समयलाई मध्यनजर गर्दै ती सामग्री किन्न नगद सहयोग गरेको हो । 

बाल हेरचाह, अनाथ, पिछडिएको, द्वन्द्व प्रभावितलगायतका बालबालिका लागि शिक्षामा केन्द्रित सो संस्थालाई आउँदा वर्षमा पनि सहयोग गर्दै जाने पौड्यालले प्रतिबद्धता व्यक्त गरे। पौड्यालले बैंकको वार्षिकोत्सवका अवसरमा सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न क्षेत्रमा सहयोग कार्य निरन्तर गरिरहने बताएका छन्।