काठमाण्डौ । सनराइज बैंकले आफ्नो १४ औँ वार्षिकोत्सवका अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बुधबार बाल मन्दिरलाई सहयोग गरेको छ। 

नेपाल बाल संगठन, बाल मन्दिर नक्सालस्थित भएको एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले नेपाल बाल संगठन, बाल मन्दिरकी अध्यक्ष विद्या उपाध्याय न्यौपानेलार्ई चेक हस्तान्तरण गरेका छन्। बैंकले सधैँझै आफ्नो वार्षिकोत्सवमा नेपाल बाल संगठनलाई आवश्यक खाद्यसामग्री, लत्ताकपडा आदि वितरण गर्दै आएकोमा यस वर्ष  आउँदै गरेको दसैँमा बालबालिकाका लागि नयाँ कपडा किन्न नगद १ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो। 

बाल हेरचाह, अनाथ, पिछडिएको, द्वन्द्व प्रभावित आदि बच्चाहरुका लागि शिक्षामा केन्द्रित यस संस्थालाई आउँदा वर्षमा पनि सहयोग गर्दै जाने प्रमुख कार्यकारी अधिकृत शर्माले बताए। 

यसका साथै बैंकको गण्डकी प्रदेश कार्यालयको अगुवाइमा गण्डकी प्रदेश सरकारका शिक्षा, संस्कृति, विज्ञान र सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठको सहभागितामा अमोर सेवा नेपाललाई नगद र खाद्यसामग्री वितरण गरेको छ। यसैगरी बैंकको लुुम्बिनी प्रदेशबाट श्री वीरेन्द्र मावि रुपन्देहीको दृष्टिविहीन संकायको भवन निर्माणका लागि पनि आर्थिक सहयोग गरेको छ।

यस्तै गत असोज १६ गतेका दिन बैंकको वीरगन्ज शाखाको सहभागितामा भिश्व डाँडामा र असोज १७ गतेका दिन बैंकको लम्की शाखा, भजनी शाखा र टीकापुर शाखाको सहभागितामा टीकापुरको शिव मन्दिर सरसफाइ गरेको छ। ती कार्यक्रमहरुमा नियमित सरसफाइ कायम राख्न डस्टबिनलगायतका सरसफाइका सामग्री पनि हस्तान्तरण गरिएको छ। 

बैंकले आफ्नो १४ औँ वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न क्षेत्रमा सहयोग कार्य गर्दै आएको छ।