काठमाण्डौ । सनराइज बैंकले डिजिटल बैंकिङमा बढीभन्दा बढी सर्वसाधारणको पहुँच पुर्याउने उद्देश्यअनुसार भिसा ब्रान्डअन्तर्गत सहकारी संस्थाहरुका ग्राहकका लागि को–ब्रान्डेड डेबिट कार्ड आजबाट जारी गरेको छ। 

बैंकले यसका लागि पायोनियर एसोसिएट्स प्रालि (कोसिस सहकारी सफ्टवेयर, आईमार्क प्रालि तथा नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम लिमिटेड (नेप्से) सँग सहकार्य गरेको छ। 

बैंकले सहकारी संस्थाहरुका ग्राहकलाई डेबिट कार्ड गर्ने परियोजना आजबाट लाइभ गरेको छ। यसको पूर्वतयारीहरुअनुसार को–ब्रान्डेड जारी गर्नेबारे भिसा इन्टरनेसनलबाट समेत सहमति प्राप्त गरिसकेको र पहिलो चरणमा कार्ड जारी गर्नका लागि विभिन्न ४ सहकारी संस्थासँग सम्झौता गरिसकेको जनाएको छ।

यसैगरी प्राविधिक सेवा प्रदायकहरुको सहकार्य कार्यमा सिस्टम तयारी गरी परीक्षणसमेत भइसकेको बैंकले जनाएको छ।

चालु आर्थिक वर्षको मौद्रिक नीतिमा घोषणा गरिएको ‘सहकारी ग्राहकसमक्ष समेत विद्युतीय भुक्तानी सेवा पुर्याउन प्रोत्साहन गरिनेछ’ भन्ने नीतिलाई समेत यस परियोजनाले केही हदसम्म मूर्त रुप दिने बैंकले अपेक्षा राखेको छ। यस कार्यक्रमबाट बैंकिङ क्षेत्रभन्दा बाहिर रहेका सीमान्तकृत बहुसंख्यक जनसंख्या लाभान्वित हुने हुँदा वित्तीय समावेशितामा योगदान पुग्ने र डिजिटल कारोबारका कारणले आर्थिक पारदर्शितामा समेत वृद्धि भई सम्पूर्ण अर्थतन्त्रमा सकारात्मक योगदान पुग्ने विश्वास बैंकले लिएको छ।

भिसा ब्रान्डअन्तर्गत सहकारी संस्थाका ग्राहकहरुलाई भिसा डेबिट कार्ड जारी गर्ने यो परियोजना समग्र दक्षिण एसियामा नै पहिलो अभ्यास भएको बैंकले दाबी गरेको छ। 

अतः भुक्तानी कार्डको क्षेत्रमा यस परियोजनाले नेपालमात्रै समग्र दक्षिण एसियाकै मार्गदर्शन गर्ने बैंकको विश्वास छ। 

यस परियोजनाअन्तर्गत जारी हुने कार्डमार्फत हुने कारोबारका लागि सनराइज बैंकले मुख्यतः सेटेलमेन्ट बैंकको भूमिका निर्वाह गर्नेछ। यसका अतिरिक्त कार्ड जारी गर्नका लागि सम्बन्धित कार्ड स्किम (भिसा इन्टरनेसनल) सँग आवश्यक पहल गरी बीआईए (बैंक आइडेन्टिफिकेसन नम्बर) उपलब्ध गराउने तथा कार्ड पर्सनलाइजेसन गर्ने कार्यसमेत सनराइज बैंकले गर्नेछ।

यस परियोजनाअन्तर्गत जारी हुने कार्डका लागि स्विचिङ सेवा प्रदान गर्ने कार्य नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम नेप्सले गर्नेछ। 

आईमार्क प्रालि तथा पायोनियर एसोसिएट्स प्रालि (कोसिस सहकारी सफ्टवेयर) ले सम्बद्ध सहकारी संस्थाको कोर बैंकिङ सिस्टम, बैंकको कोर बैंकिङ सिस्टम र स्विचिङ सिस्टमबीच आवश्यक सञ्चार समन्वय गर्ने संरचना तयार गर्ने तथा कारोबार रुटिङ कार्ड जारी गर्नुपूर्व गरिने ग्राहक पहिचानका गतिविधि, ईकेवाईसीलगायतका कार्यहरुका लागि आवश्यक प्राविधिक सेवा प्रदान गर्नेछ। 

यस परियोजनाअन्तर्गत जारी हुने कार्डहरु सनराइज बैंकको स्वामित्वमा रहेको बीआईएनअन्तर्गत जारी हुनेछन् भने सो कार्डहरु सम्बन्धित सहकारी संस्थाहरुमा रहेका कार्डवाहकहरुको खातामा सोझै लिंक हुनेछ।

आफ्ना ग्राहकहरुलाई डेबिट कार्ड जारी गर्ने सन्दर्भमा आवश्यक अन्य प्रक्रिया सम्बद्ध सहकारीले नै गर्नेछ भने कुनै पनि सहकारीलाई यस परियोजनामा सामेल गराउनुपूर्व सनराइज बैंकले भरपर्दो तेस्रोमार्फत सो सहकार्यको ड्यु डिजिलेन्स गर्नेछ।

यस परियोजनाअन्तर्गत जारी हुने कार्डहरुको सुरक्षा तथा प्रयोगको हकमा हाल जारी भइरहेका डेबिट कार्डहरुभन्दा फरक नहुने गरी अन्तर्राष्ट्रिय रुपमै स्वीकार्य र प्रचलनमा रहेका सुरक्षात्मक उपाय र विशेषताहरु अनिवार्य रुपमा राखिएको छ भने सञ्चालन जोखिम न्यूनीकरणका लागि विस्तृत सञ्चालन विधि तथा जोखिम न्यूनीकरण उपाय तयार गरी लागू गरिसकिएको छ।