काठमाण्डौ । देशभर विभिन्न सामाजिक उत्तरदायित्वका कामहरु गर्दै आएको सनराइज बैंकले महिला स्वास्थ्य र महिलाहरुको सशक्तीकरणका लागि विद्यालयमा अध्ययनरत छात्रा तथा कार्यरत महिलालाई लक्षित गरी प्याड एटीएम प्रदान गरेको छ। 

हाल विद्यालयमा व्यवस्थित शौचालय र स्यानिटरी प्याडको व्यवस्था नहुँदा उनीहरु विद्यालय जान हिचकिचाउने देखिन्छ। यसै समस्यालाई अध्ययन गरी बैंकले विभिन्न विद्यालयमा अटोमेटेड प्याड भेन्डिङ मेसिन प्रदान गरेको हो। एउटा सिक्का हाल्दा एउटा प्याड आउने ब्याट्री ब्याकअपसहितको उक्त मेसिनले छात्रा तथा विद्यालयमा कार्यरत महिललाई आवश्यक पर्दा सजिलै प्याड लिन सकिने वातावरणको सिर्जना हुने बैंकले जनाएको छ। 

बैंकले आज एक कार्यक्रमका बीच काठमाण्डौको लैनचौरस्थित शान्ति विद्यागृह माध्यमिक विद्यालयमा एक थान प्याड एटीएम र एक थान प्याड डिस्पोजल मेसिन हस्तान्तरण गरेको छ। बैंकका सहायक महाप्रबन्धक हरिप्रसाद आचार्यले सीएरआर प्रमुख सुमन थापा र कान्तिपथ शाखा प्रमुख अनिल महर्जनको उपस्थितिमा विद्यालयकी प्रधानाध्यापक शिवकुमारी बराल घिमिरेलाई उक्त सामान हस्तान्तरण गरेका छन्। 

यसका साथै बैंकद्वारा ललितपुर एकान्तकुनास्थित महेन्द्र भृकुटी माध्यमिक विद्यालयमा पनि उक्त मेसिन हस्तान्तरण गरिएको थियो। 

यसैगरी देशका विभिन्न ठाउँमा प्याड एटीएम प्रदान गर्ने क्रममा बैंकले मोलुङ, किन्जा, डुम्रे, देउराली, बागलुङ, वालिङ, कावासोती, बर्दिबास, तेह्रथुम, वीरेन्द्रनगरलयागतका ठाउँमा उक्त मेसिन हस्तान्तरण गरिसकेको छ।