काठमाण्डौ । सनराइज बैंकले स्वास्थ्यकर्मीहरुका लागि अत्यावश्यक व्यक्तिगत सुरक्षा उपकरण(पीपीई) वितरणको कामलाई जारी राखेको छ । 

यो क्रममा बैंकको प्रदेश ५ स्थित प्रादेशिक कार्यालयले सामाजिक उत्तरदायित्वअन्तर्गत २५ थान पीपीई प्रदेश ५ सरकारलाई हस्तान्तरण गरेको छ । 

बैंकका सो प्रदेशका प्रमुखले ती पीपीई मुख्यमन्त्री शंकर पोरखेललाई हस्तान्तरण गरेका थिए । 

यसैगरी,  चैत २८ गते बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका प्राध्यापक डा. गौरीशंकर शाहलाई बैंकका प्रदेश १ का प्रादेशिक कार्यालयका प्रमुख विवेक निरौलाले ३३ थान पीपीई हस्तान्तरण गरेका बैंकले जनाएको छ । 

सो क्रममा निरौलाले विपत्तिको समयमा राज्यलाई सहयोग गर्नु बैंकको सामाजिक उत्तरदायित्व भएको बताउँदै कोरोना संक्रमणको उच्च जोखिममा रहेको स्वास्थ्यकर्मीहरुको सुरक्षाका लागि व्यक्तिगत सुरक्षात्मक उपकरण प्रदान गरिएको बताए । 

हालसम्म सनराइज बैंकले देशभरका विभिन्न अस्पतालमा ५०० बढी पीपीई उपलब्ध गराइसकेको छ ।