काठमाण्डौ। सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले मंसिर लागेयता विभिन्न मितिमा विभिन्न कार्यक्रम आयोजना गरी आफ्ना सबै कर्मचारीलाई तालिम प्रदान गरेको छ। 

संस्थाले हालै शाखा व्यवस्थापन तथा लघुवित्त व्यवस्थापन तालिमसहित आर्थिक वर्ष २०७८/८९ को प्रथम चौमासिक समीक्षा बैठक सम्पन्न गरेको छ। 

संस्थाले कर्मचारीहरुको पदअनुसार श्रेणीकरण गरी आवश्यक विषयवस्तुहरुमा तीन लट गरी संस्थाका सम्पूर्ण कर्मचारीलाई शाखा व्यवस्थापन र लघुवित्त व्यवस्थापन तालिम दिएको हो। संस्थाले शाखा प्रमुखहरुको ३ दिने शाखा व्यवस्थापन तालिम तथा प्रथम चौमासिक समीक्षा गोष्ठी धनकुटको भेडेटारस्थित म्याजेस्टिक होटलमा सम्पन्न गरेको हो। तालिममा श्रवणकुमार सपोर्ट प्रालिका प्रमुख कार्यकारी अधिकृत प्रकाश पोखरेललाई मुख्य प्रशिक्षकका रुपमा आमन्त्रित गरिएको र यस वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत कुलमणि तिम्सिना, विभिन्न विभागका विभागीय प्रमुख तथा विभागका कर्मचारीहरु विष्णुकान्त चौधरी, सञ्जयकुमार चौधरी, डिल्लीराम पोखरेल, सोकेन्द्रकुमार राय र राजेन्द्र पहाडीले शाखा प्रमुखहरुलाई विभिन्न विषयहरुमा प्रशिक्षण गर्नुका साथै सुझावहरु दिएका थिए। 

कार्यक्रममा शाखाका शाखा प्रमुखहरुले शाखा कार्यालयहरुलाई दिइएको लक्ष्यअनुसार आ–आफ्नो शाखाको प्रगति विवरण पेस गर्नुका साथै आगामी दिनहरुका लागि रणनीतिक योजनाहरु प्रस्तुत् गरेका थिए। संस्थाको २४ वटा शाखा कार्यालयहरुमध्ये चौमासिक लक्ष्य प्रगतिका आधारमा उत्कृष्ठ शाखा कार्यालय गराँस, उदयपुर घोषित भई शाखा प्रमुखलाई सम्मानित गरिएको थियो।

त्यस्तै संस्थाले सहायकस्तरका कर्मचारीहरुको लघुवित्त व्यवस्थापन तालिम र भर्खरै संस्थामा आबद्ध भएका नयाँ सहायक स्तरका करार, तालिमे, प्रशिक्षार्थी, परीक्षणकालमा रहेका कर्मचारीहरुका लागि इटहरीस्थित ओशियन पार्क रिसोर्टमा तालिम सम्पन्न गरेको छ। लघुवित्त व्यवस्थापन तालिममा कर्मचारीलाई नयाँ सदस्य बनाउने, कर्जा लगानी गर्ने, कर्जाको भाखा नाघ्न नदिने तथा भाखा नाघेको कर्जा कसरी असुली गर्ने, सदस्यहरुलाई तथा संस्था रहेको कार्यक्षेत्रमा वित्तीय साक्षरताका कार्यक्रमहरु मार्फत साक्षर कसरी बनाउने आदि विषयहरुमा प्रमुख कार्यकारी अधिकृत, विभागीय प्रमुखहरु साथै विभागका कर्मचारीहरुबाट प्रशिक्षण तथा सहजीकरण गरिएको थियो। वित्तीय संस्थामा आबद्ध सहायक स्तरका कर्मचारीमध्ये सदस्य वृद्धिमा लक्ष्यभन्दा बढी प्रगति हासिल गर्ने शाखा कार्यालयहरुलाई सम्मान गरिएको थियो।