काठमाण्डौ । किशोरकिशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्यक्रम ‘वाई वाई ग्लोकल टिन हिरो नेपालको सातौं संस्करणमा छानिएका उत्कृष्ट किशोरकिशोरीहरुका लागि ५ दिने लामो क्षमता निर्माण कार्यशाला समापन भएको छ।

देशभरिका प्रतिभावान किशोर किशोरीहरुलाई एकै साथ ल्याउन यस बर्ष ग्लोकल टिन हिरो नेपाल २०२१ को मुख्य साझेदारका रूपमा वाई वाई जोडिएको छ। यसैअन्तर्गत आज किशोरकिशोरीले सीजी कोर्प ग्लोबलका प्रबन्ध निर्देशक निर्वाण चौधरीसँग अन्तरक्रिया गर्ने मौका प्राप्त गरेका थिए।

चौधरीले आफूलाई किशोरकिशोरीबाट प्रेरणा मिलेको र सदैव उनीहरुको कार्यमा सहयोग गर्ने कुरा बताए। यिनै प्रतिभावना किशोरकिशोरीसँग अन्तरक्रिया गर्न पाउँदा गौरव महसुस भएको पनि उनले सुनाए। ‘हाम्रो समाज र देशको सुधारका लागि युवाहरुको योगदान अपरिहार्य छ’, उनले भने, ‘सबैको आफ्नो जीवनमा उद्देश्य हुन्छ र एक आफ्नो लक्ष्य पुरा गर्नका लागी निरन्तर मेहेनत एवम लगनशीलता महत्वपूर्ण हुने कुरा हो।’ 

अहिलेको समयमा साझेदारी एवं सहकार्य जरुरी भएको कुरा विश्लेषणगर्दै आफ्नो सपनालाई पूरा गर्न एवं अगाडि बढ्न चौधरीले प्रोत्साहन गरे। उनले किशोरकिशोरीलाई राम्रो नेटवर्किङ निर्माण गर्न प्रेरित गरे। 

‘तपाइँको नेटवर्क तपाइँको नेट वर्थ हो’ एक उदाहरणलाई जोड्दै चौधरीले किशोरकिशोरीहरुलाई सम्भावित सहयोगको अन्वेषण गर्न र आफ्नो देश विकासमा लागि कार्य गर्दै आफू र आफ्नो भावी पुस्ताका लागि एक राम्रो भविष्य निर्माण गर्न आग्रह गरे। अन्ततः ग्लोकलले वाई वाइसँगको साझेदारीमार्फत युवा बिकासका नवीनतम आयाम सिर्जना गर्नेमा सकारात्मक रहेको पनि उनले बताए।