काठमाण्डौ। समृद्धि फाइनान्स कम्पनी लिमिटेड र फेवा बजारबीच कन्जुमर ईएमआई कर्जा प्रवाहसम्बन्धी सम्झौता भएको छ।

अब ५० हजारदेखि ५ लाख रुपैयाँसम्मको सामग्री खरिदमा जिरो प्रतिशत ब्याजदरमा फेवा बजार तथा फाइनान्स कम्पनीका ग्राहकले ६ महिनादेखि ३६ महिनासम्मका लागि कर्जा सुविधा पाउनेछन्। सो सम्झौतापत्रमा फाइनान्स कम्पनीका तर्फबाट प्रमुख कर्जा अधिकृत सुभाष श्रेष्ठ र फेवा बजारका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुजन आर्चायले हस्ताक्षर गरेका छन्। 

फाइनान्स कम्पनीका बजार तथा व्यवसायक प्रवर्द्धन प्रमुख शालिकराम पन्थीका अनुसार उक्त कर्जा बैंकका नयाँ तथा पुराना ग्राहकलाई मध्यनजर गर्दै बनाइएको हो। यो कर्जाले ग्राहकहरुलाई आवश्यक इलेक्ट्रिक ग्याजेट तथा घरायसी सामग्री खरिद गर्न सहज हुने बताइएको छ।

समृद्धि फाइनान्सले आईपीएस, कनेक्ट आईपीएस, रेमिटान्स, क्लियरिङलगायतका बैंकिङ र मोबाइल बैंकिङ, डेबिट कार्ड, क्यूआर कोड कर्पोरेट पेजस्ता डिजिटल सुविधाहरु प्रदान गरिरहेको छ। निक्षेपमा आकर्षक व्याजदर कायम गरेको सो संस्थाले हायर पर्चेज कर्जा, घर कर्जा, विपन्न वर्ग कर्जा, व्यवसाय कर्जा, व्यक्तिगत कर्जालगायतका कर्जा प्रवाह गरिरहेको छ। 

हाल पाँचवटा शाखाहरुमार्फत कारोबार गर्दै आएको उक्त संस्थाले आगामी दिनमा थप नयाँ शाखाहरु सञ्चालनमा ल्याउने योजना रहेको जनाएको छ। यसका साथै निकट भविष्यमा इन्टरनेट बैंकिङ तथा ई–केवाईसीलगायतको प्रविधिमा आधारित सेवाहरु पनि सञ्चालनमा ल्याउँदैछ।