काठमाण्डौ। समृद्धि फाइनान्स र ग्रोथ सेलर प्रालिबीच जनशक्ति व्यवस्थापन सम्बन्धित सम्झौता भएको छ। 

यो सम्झौतापछि समृद्धि फाइनान्सका लागि आवश्यक जनशक्ति नियुक्तिका लागि ग्रोथ सेलरले सम्पूर्ण जनशक्ति नियुक्तिका प्रक्रियामा सहयोग गर्नेछ। संस्थाको विभिन्न शाखामा आवस्यक जनशक्ति दक्ष अर्धदक्ष, सिकारु आवश्यकता हेरी नियुक्तिका लागि ग्रोथ सेलरले समन्वय गर्नेछ।

समृद्धि फाइनान्सलाई आवश्यक जनशक्तिको नियुक्तिमा सहज पहुँच गराई संस्थाको प्रगतिमा ग्रोथ सेलरले महत्वपूर्ण भूमिका खेल्ने विश्वस व्यक्त गर्दै ग्रोथ सेलरका संस्थापक अध्यक्ष मोहन ओझाले समृद्धिसँग जोडिन पाउनु खुशीको कुरा रहेको बताए। 

त्यस्तै संस्थाका तर्फबाट उक्त सम्झौतामा हस्ताक्षर गरेका मानव संसाधन विभागका प्रमुख रामहरि रिमालले उक्त सम्झौताबाट संस्थाले आगामी दिनमा अति आवश्यक अवस्थामा नयाँ जनशक्ति नियुक्ति गर्न सहज अवस्था सिर्जना गरेको र यसले दुवै संस्थालाई फाइदा पुग्ने विचार व्यक्त गरे। 

समृद्धि फाइनान्सले मुद्दति निक्षेपको योजनाअन्तर्गत ७२ महिनामा पैसा दोब्बर हुने निक्षेप योजना सार्वजनिक गरेको छ। यसका साथ साथै फाइनान्सले १० वर्षमा पैसा तेब्बर, १५ वर्षमा पैसा पाँचगुणा र २० वर्षमा पैसा आठगुणा हुने निक्षेप योजना पनि सञ्चालनमा ल्याएको छ। फाइनान्सले हाल पाँचवटा शाखाबाट सेवा प्रवाह गर्दै आएको र शाखा सञ्जाल विस्तार गर्दै चाँडै नै जनकपुर, इटहरी र बनेपामा पनि शाखा सञ्चालन हुने जनाएको छ।