काठमाण्डौ । नेपाल बुद्धिचाल संघको आयोजनामा काठमाण्डौमा समृद्धि फाइनान्स नेसनल सिनियर (भेट्रान) चेस च्याम्पियनसिप सुरु भएको छ। 

प्रतियोगिताको पहिलो दिन शनिबार दुई चरणका खेल सम्पन्न भएका छन्। दुई चरणको समाप्तिमा बद्रीलाल नेपाली, फिडेमास्टर विलमलाल श्रेष्ठ,  क्यान्डिडेटमास्टर नवीन तण्डुकार, बलराम नापीत, विजय गुरुङ, पुण्यमान कर्माचार्य र रामबहादुर क्षत्री समान दुईदुई अंकका साथ अग्रता लिन सफल भए।

च्याम्पियनसिपका शिर्ष खेलाडी पूर्वराष्ट्रिय च्याम्पियन विलमलालले पहिलो चरणमा भक्तपुर जगन्नाथ ताम्राकार तथा दोश्रो चरणमा क्यान्डिडेटमास्टर भगवतीप्रसाद शर्मालाई पराजित गरे। 

त्यसैगरी तीनपटकका राष्ट्रिय च्याम्पियन बद्रीलालले पहिलो तथा दोस्रो चरणमा क्रमशः काठमाण्डौका सीताराम अग्रवाल एवं लवकुमार श्रेष्ठमाथि जित हात पारे। पूर्वराष्ट्रिय च्याम्पियन नवीनले बर्दियाका किरण नापित तथा सप्तरीका भुवनेश्वर चौधरीलाई पराजित गर्दा अर्का पूर्वराष्ट्रिय च्याम्पियन पुण्यमानले ललितपुरका विनय श्रेष्ठ एवं काठमाण्डौका ज्ञानेन्द्रप्रसाद श्रेष्ठलाई हार चखाए। 

रुपन्देहीका विजय गुरुङ अनरेटेड रामकृष्ण शर्मा एवं भक्तपुरका गणेशमान दुवालसँग अंक खोस्न सफल भए। कास्कीका रामबहादुरले श्याम राजवाहक एवं कास्कीकै नरेन्द्र रानाभाटमाथी जीत दर्ज गरे। 

दुई चरणको समाप्तिपश्चात काठमाण्डौका जनार्दन श्रेष्ठ, राजेन्द्रप्रसाद श्रेष्ठ र कैलालीका जीतबहादुर केप्छाकी समान १.५ अंकमा रहेका छन्।
पुतलीसडक स्थित कान्तिपुर सिटी कलेजमा जारी तीन दिने च्याम्पियनसिपको व्यवस्थापन स्पोर्टस एन्ड इभेन्टस नेपालले गरेको छ। 

गत असार अन्तिम साता काठमाण्डौमा सम्पन्न अधिवेशनबाट निर्वाचित बुद्धिचाल संघको नयाँ कार्यसमितिले हरेक वर्ष १५ वटा विधामा राष्ट्रिय प्रतियोगिताहरु आयोजना गर्ने निर्णय गरेको छ। नेपाली बुद्धिचाल खेल जगतका पहिलो पुस्ताका खेलाडीलाई मध्यनजर गर्दै नेसनल सिनियर (भेट्रान्स) च्याम्पियनसिपबाट आफ्नो योजना कार्यान्वयन गर्न लागेको संघले यसै प्रतियोगितामा मार्फत नेपालमा पहिलोपटक डिजिटल चेस बोर्डसमेत प्रयोगमा ल्याएको छ। 

सातै प्रदेशका ३४ जना खेलाडीको सहभागिता रहेको च्याम्पिनसिपको कुल पुरस्कार राशि १ लाख ७४ हजार रुपैयाँ रहेको छ। स्विस लिगअनुसार ७ चरणमा सम्पन्न हुने च्याम्पियनसिपको विजेताले ५० हजार नगद प्राप्त गर्नेछन्। 

च्याम्पियनसिपअन्तर्गत आइतबार तेस्रो, चौथो र पाँचौँ चरणका खेल सञ्चालन गरिनेछ।