काठमाण्डौ । पूर्वनेसनल च्याम्पियन बद्रिलाल नेपालीले समृद्धि फाइनान्स पाचौँ नेसनल सिनियर (भेट्रान) चेस च्याम्पियनसिपको उपाधि जितेका छन्। 

पाँचौँ चरणसम्म एकल अग्रता बनाएका क्यान्डिडेटमास्टर नवीन तण्डुकारलाई छैटौँ चरणमा हराउन सफल भएका बद्रीलालले सातौँ चरणका खेलमा जनार्दन श्रेष्ठसँग बराबरीको नतिजा आत्मसात गरे। तीनपटकका नेसनल च्याम्पियन रहिसकेका बद्रिलालको ५० वर्ष माथिको उमेर समूहमा पहिलो उपाधि हो। समग्रमा ५.५ अंक जोडेका बद्रिलाल बुकोल्स टाइब्रेकरका आधारमा च्याम्पियन बन्दै ५० हजार नगदसमेत प्राप्त गरेका छन्।  

नेपाल बुद्धिचाल संघको आयोजना तथा समृद्धि फाइनान्सको मुख्य प्रायोजनमा सम्पन्न च्याम्पियनसिपमा समान ५.५ अंक बनाएका फिडेमास्टर विलमलाल श्रेष्ठ तथा पुण्यमान कर्माचार्य क्रमशः दोस्रो तथा तेस्रोस्थानमा रहन सफल भए। पूर्वनेसनल च्याम्पियन विलमलालले छैटौँ चरणमा रुपन्देहीका विजय गुरुङ एवं सातौँ चरणमा नवीन तण्डुकारलाई पराजित गर्दै ३० हजार नगद हात पारे। 
त्यसैगरी अर्का नेसनल च्याम्पियन पुण्यमानले छैटौँ चरणमा मोरङका भरत धिमाल र सातौँ चरणमा काठमाण्डौका राजेन्द्रप्रसाद श्रेष्ठलाई हराए। तेस्रो स्थानमा रहेका उनले २० हजार नगद प्राप्त गरे।

स्पोर्टस एन्ड ईभेन्टस नेपालको व्यवस्थापनमा पुतलीसडकस्थित कान्तिपुर सिटी कलेजमा सम्पन्न च्याम्पियनशिीअन्तर्गत सोमबारका दुवै खेल गुमाएपछि पूर्वनेसनल च्याम्पियन नवीन तण्डुकार चौथो स्थानमा रहँदै १५ हजार नगद पुरस्कार हात पारेका छन्। भक्तपुरका बलराम नापित पाचौँ स्थानमा रहँदै १० हजार नगद पुरस्कार पाउन सफल भए। 

त्यसैगरी जनार्दन श्रेष्ठ तथा राजेन्द्रप्रसाद श्रेष्ठ क्रमशः छैटौँ तथा सातौँ स्थानमा रहँदै जनही ७ हजार नगद प्राप्त गर्न सफल भएका छन्। 
काठमाण्डौका क्यानिडडेट मास्टर भगवती प्रसाद शर्मा, काठमाण्डौकै पुराना खेलाडी सीताराम अग्रवाल तथा बाँकेका तिर्थबहादुर विक क्रमशः आठौँ, नवौँ र दसौँ स्थानमा रहँदै जनही ५ हजार नगद प्राप्त गरेका छन्। 

भक्तपुरका गणेशमान दुवाल ६० वर्षमाथि उमेर समूहको क्याटागोरी पुरस्कार पाउन सफल भए भने काठमाण्डौका ज्ञानेन्द्रप्रसाद श्रेष्ठ तथा सर्लाहीका लवकुमार श्रेष्ठ क्रमशः ६५ र ७० वर्षमाथि उमेर समूहको पुरस्कारस्वरुप जनही ५ हजार नगद प्राप्त गर्न सफल भएका छन्। 

चारजना पूर्वनेसनल च्याम्पियनसहित देशभरका ३४ जना खेलाडीको सहभागिता रहेको च्याम्पियनसिपका विजेतालाई नेपाल बुद्धिचाल संघका अध्यक्ष विदूरप्रसाद गौतम, समृद्धि फाइनान्सका अध्यक्ष ठाकुर प्रसाद भट्टराई, समृद्धि फाइनान्सका सीईओ टीकानिधि लोहनी, कान्तिपुर सिटी कलेजका प्रिन्सिपल राजु कटेललगायतले ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए।