काठमाण्डौ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारले कोरोना र भोकमरीबाट जनतालाई बचाउन छाडेर सत्ताको उन्माद र खेल प्रस्तुत भएको भन्दै मन्त्रीपरिषदबाट सोमबार पारित २ अध्यादेशलाई बेमौमसी बाँसुरीको संज्ञा दिएको छ । 

कांग्रेस सभापति शेरबहादुर देउवाले एक विज्ञप्ति जारी गर्दै सरकारले आज पारित गरी राष्टपतिबाट अनुमोदन समेत भइसकेको संवैधानिक परिषद सम्बन्धी र राजनैतिक दल सम्बन्धी दुई अध्यादेशप्रति आफ्नो सहमति जाहेर गरेका हुन् । 

'त्यसले सरकार नागरिकको जीवन रक्षाका लागि गम्भीर नभएको पुष्टि भएको छ । दुबै अध्यादेशप्रति नेपाली कांग्रेसको गम्भीर असहमति छ ।' देउवाले विज्ञप्तिमा भनेका छन्-'कोरोनाको संक्रमण बाट नेपाल र नेपालीको रक्षा गर्ने यो घडीमा सबै खाले विमति र आग्रहहरुबाट माथि उठेर नेपाली कांग्रेसले सरकारलाई हरसंभव सघाउंदै आएको छ । यतिबेलाको प्रधान दायित्व भनेको कोरोना र भोकमरीबाट नेपाली जनतालाई जोगाउनु हो । यो घडी सत्ताको उन्माद या खेल प्रस्तुत गर्नु भनेको नेपाली इतिहासकै सबैभन्दा दुःखद घटना हो र यो ‘बेमौसमी बांसुरी’ हो ।'

उनले आजको संविधान निर्माण गरिंदा राजनैतिक स्थिरताको बन्दोबस्त गरिएको र संगैमा संवैधानिक नियुक्तिहरुमा साझा स्वामित्वको परिकल्पना गरिएको उल्लेख गर्दै नागरिक जीवन संकटमा रहेको घडीमा सरकारले चालेको कदम र राष्ट्रपतिबाट हतारमा गरिएको प्रमाणीकरणले यी सबै ब्यवस्थालाई हठात उल्लंघन गरेको दाबी गरेका छन् । 

'नेपाली कांग्रेस अलोकतान्त्रिक एवं संविधानको मर्म विपरीतका विधेयक तत्काल फिर्ता लिन माग गर्दै अन्य सबै खेल भन्दा माथि उठेर कोरोनाबाट जनताको जीवन रक्षामा सम्पूर्ण रुपले केन्द्रित हुन सरकारलाई अपील गर्दछ ।'- देउवाले भनेका छन् ।