काठमाण्डौ । पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको अवस्थामा आमूल सुधार गरी निजी क्षेत्रका लागि समेत चुनौति बनाएर कुशल व्यवस्थापकको रुपमा स्थापित बैंकर किरणकुमार श्रेष्ठ नेपाल व्यवस्थापन संघ(म्यान)को अध्यक्ष निर्वाचित भएका छन् । 

राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत समेत रहेका श्रेष्ठलाई मतदानबाट निर्वाचित सदस्यहरुको बहुमतले संघको अध्यक्ष चुनेको हो । 

उनी व्यवस्थापन संघको व्यक्तिगत तर्फबाट सदस्य पदमा चुनाव लडी सर्वाधिक भोट पाएर निर्वाचित भएका थिए । 

म्यानको विधानअनुसार सदस्यमा निर्वाचितहरुमध्येबाट अध्यक्ष र बाँकी पदाधिकारी चुन्नुपर्ने हुन्छ । यही प्रावधानअनुसार निर्वाचनबाट सदस्य बनेकाहरुको बैठकले श्रेष्ठलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो । 

म्यानले श्रेष्ठलाई यो पटकको म्यानेजर अफ दि इयरको अवार्डले समेत सम्मान गरेको थियो । उत्कृष्ट व्यवस्थापकको सम्मान पाएकै वर्ष श्रेष्ठले म्यानको अध्यक्ष बन्ने शौभाग्य पाएका हुन् । 

म्यानमा निर्वाचित सदस्यहरुको बैठकले अन्य पदाधिकारीको समेत टुंगो लगाएको छ । जसअनुसार संस्थागत सदस्यमा निर्वाचित राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्र  प्रथम उपाध्यक्षमा निर्वाचित भएका छन् । 

यस्तै, द्वीतीय उपाध्यक्षको रुपमा आइएमई समूहका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल निर्वाचित भएका छन् । ग्लोबल आइएमई बैंकको संचालक समेत रहेका पोखरेल व्यक्तिगत तर्फबाट म्यानको सदस्यमा निर्वाचित भएका थिए । 

संघको महासचिवमा कृषि विकास बैंकका धर्मानन्द अवस्थी र कोषाध्यक्षमा अनु श्रेष्ठ जोशी निर्वाचित भएका छन् । 

म्यानको विधान अनुसार ११ जना व्यक्तिगत तर्फबाट सदस्यमा निर्वाचित हुनसक्छन् । ६ जना भने संस्थागतबाट सदस्य बन्न सक्छन् । व्यक्तिगत र संस्थागतबाट सदस्य बनेकाहरुले नै अध्यक्ष र अन्य पदाधिकारीको विषयमा टुंगो लगाउने गर्छन् ।