काठमाण्डौ । आइएमई ग्रुपअन्तर्गतका केबलकार कम्पनीहरु चन्द्रागिरी हिल्स, मौलाकाली केबलकार र लुम्बिनी केबलकारले सशस्त्र प्रहरी तथा आश्रित परिवारलाई केबलकारको टिकट मूल्यमा छुट दिने भएका छन्। 

आज सशस्त्र प्रहरी बलको प्रधान कार्यालय र तिनवटै केबलकार कम्पनीहरुले छुट प्रदानसम्बन्धी सम्झौता गरेका हुन्। सम्झौताअनुसार बहालवाला सशस्त्र प्रहरी कर्मचारी, अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारी, आश्रित परिवारका साथै नेपाल एपीएफ स्कुलमा कार्यरत शिक्षक तथा कर्मचारीले केबलकारको टिकट मूल्यमा २० प्रतिशत छुट प्राप्त गर्नेछन्। 

सशस्त्र प्रहरी बलको कल्याणकारी योजनाअन्तर्गत भएको यो सम्झौताबमोजिम यो छुट प्राप्त गर्न बहालवाला सशस्त्र प्रहरी कर्मचारीले सम्बन्धित कार्यालयले प्रदान गरेको परिचयपत्र, अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारीले पेन्सनपट्टा तथा आश्रित परिवारहरुले नाता प्रमाणित कागजात देखाउनुपर्नेछ।

सम्झौतापत्रमा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक प्रवीण कँडेल र मौलाकाली तथा लुम्बिनी केवलकारका तर्फबाट कम्पनीका प्रतिनिधि रुद्र पौडेल, चन्द्रागिरी हिल्सका तर्फबाट महाप्रबन्धक सञ्जीव थापाले हस्ताक्षर गरेका छन्। 

सशस्त्र प्रहरी बलका प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलको उपस्थितिमा भएको हस्ताक्षर समारोहमा आइएमईअन्तर्गतको बेस्ट रिसोर्टका निर्देशक अभिषेक विक्रम शाहलगायत आइएमई ग्रुप तथा सशस्त्र बलका प्रतिनिधिहरुको सहभागिता थियो।