काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले सोमबार दराजसँग नयाँ नेपाली वर्षको अवसरमा अनलाइन सपिङ गर्दा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता गरेको छ। 

बैंकका ग्राहकले दराजद्वारा अनलाइन सामान खरिद गरी अनलाइनबाटै भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्। सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख सञ्चालन अधिकृत अपूर्वप्रसाद जोशी र दराजका तर्फबाट डिजिटल पेमेन्ट पार्टनरसिप प्रमुख अरुण फुयाँलले हस्ताक्षर गरेका छन्। 

बैंकको कार्ड प्रयोगकर्ताले नेपाली नयाँ वर्षको उपलक्ष्यमा हुन लागेको नव वर्ष २०७९ अभियान २०७८ चैत २८ गतेको दिनदेखि सीमित समयका लागि डेबिट कार्डमार्फत अग्रिम भुक्तानीमा अधिकतम १० प्रतिशत वा रु. १ हजारसम्मको छुट प्राप्त गर्न सक्नेछन्। उक्त छुट प्रप्त गर्नका लागि ग्राहकले आफ्नो कार्डमा ई–कमर्स सक्रिय गर्नुपर्छ। 

ग्राहकलाई आफ्नो कार्डमा ई–कमर्स सक्रिय गर्न र डेबिट कार्डका लागि आजै आवेदन दिन बैंकले आग्रह गरेको छ। 

यस सम्झौताको मुख्य उद्देश्य बैंकका ग्राहकलाई नयाँ वर्षमा सजिलोसँग घरमै बसी अनलाइनबाटै सामान खरिद र भुक्तानी गर्दा छुट प्राप्त गर्न सकिने अवसर प्रदान गर्नु हो। तसर्थ यस सम्झौताले विशेष छुट उपलब्ध गराउने हुँदा ग्राहकलाई विशेष सहयोग पुग्ने विश्वास सांग्रिला डेभलपमेन्ट बैंके लिएको छ।