काठमाण्डौ । विगत एक वर्षदेखि कोभिड १९ ले थलिएका विभिन्न क्षेत्रहरूमा पुनः गतिविधिहरू सञ्चालन हुन थालेका छन्। यसै क्रममा लिभिङ विथ आइसिटीले सातै प्रदेशमा स्टार्टअप एण्ड आइडिया फेस्ट २०२१ को आयोजना गर्ने भएको छ। 

वैशाख पहिलो सातादेखि शुरु हुने आइडिया फेस्टमा स्थानीय स्टार्टअप र इन्नोभेटिभ आइडिया भएका व्यक्तिहरूले प्रतिस्पर्धामा सहभागी हुने अवसर प्राप्त गर्नेछन्। आइसिटी अवार्ड २०२१ को प्रि इभेन्ट क्याम्पियनको रूपमा आयोजना हुन लागिरहेको स्टार्टअप एण्ड आइडिया फेस्ट २०२१ सातै प्रदेशका प्रमुख शहरहरूमा आयोजना हुनेछन्। 

वैशाख पहिलो साता प्रदेश नं. १ को विराटनगरबाट शुरू हुने कार्यक्रम जेष्ठ दोस्रो साता सुदूरपश्चिम प्रदेशको धनगढीमा गएर समापन हुनेछ। यसैगरी प्रदेश २ मा वीरगन्ज, बागमती प्रदेशमा हेटौँडा, गण्डकी प्रदेशमा पोखरा, लुम्बिनी प्रदेशमा बुटवल र कर्णाली प्रदेशमा सुर्खेतमा कार्यक्रम आयोजना हुने जारी प्रेस विज्ञप्तीमा उल्लेख छ।

फेस्टमा प्रविधि क्षेत्रमा काम गरिरहेका स्थानीय स्टार्टअप र विद्यार्थीका इन्नोभेटिभ प्रोजेक्टहरूले प्रतिस्पर्धामा सहभागिता जनाउन सक्ने आयोजकले जनाएको छ। चैत १ गतेदेखि खुला गरिएको रजिस्ट्रेशन चैत २५ गतेसम्म जारी रहने इभेन्ट अफिसर मुस्कान प्रसाईंले बताइन्। नेपाली स्टार्टअप डट कम वेबसाइटमा गएर स्टार्टअप वा आइडिया रजिस्टर गर्न सकिने प्रसाईंले जानकारी दिइन्। 

स्टार्टअप एण्ड आइडिया फेस्ट २०२१ मा उत्कृष्ट स्टार्टअपहरूका प्रडक्टहरू प्रदर्शनी गरिनेछ। यस कार्यक्रममा स्कुल तथा कलेजका विद्यार्थीले समेत इन्नोभेटिभ प्रोजेक्टहरू प्रदर्शन गर्र्न सक्नेछन्। फेस्टमा स्टार्टअपहरूका लागि मेन्टरिङ तथा बिजनेश ग्रोथको सेसनहरू र केही स्थानमा ह्याकाथुन पनि सञ्चालन हुने आयोजकले जनाएको छ। ह्याकाथुन कार्यक्रम कोड फर चेन्जसँग सहकार्यमा हुनेछ।

यसैगरी राष्ट्रिय वाणिज्य बैंक, ब्रेनडिजिट र टेक्नोरियोले फेस्टको आयोजनामा सहकार्य गरेका छन्। 

हरेक प्रदेशबाट उत्कृष्ट एक स्टार्टअपलाई रु. १० लाखसम्मको सहुलियतपूर्ण ऋण सुविधा प्रदान गरिनेछ भने उत्कृष्ट आइडियालाई ३ लाखसम्मको ‘सिड फण्डिङ’ गरिने आयोजक समितिका अध्यक्ष राजन लम्सालले बताए। देशैभर स्टार्टअप, इन्नोभेसन र उद्यमशीलतालाई प्रवद्र्धन गर्ने उद्देश्यले फेस्ट आयोजना गरिएको लम्सालले जानकारी दिए।

सातै प्रदेशका उत्कृष्ट स्टार्टअप र आइडियालाई आइसिटी अवार्ड २०२१ को ग्राण्ड फिनालेमा सम्मान समेत गरिनेछ। आइसिटी स्टार्टअप एण्ड आइडिया फेस्ट २०२१ मा हरेक प्रदेशको कार्यक्रममा ५ हजारभन्दा बढीले अवलोकन गर्ने आयोजकको अपेक्षा छ। 
अनलाइन रजिस्ट्रेसनका लागि नेपाली स्टार्टअप डट कम वेबसाइट हेर्न सकिन्छ।