काठमाण्डौ । साल्ट ट्रेडिङ  कर्पोरेशन लिमिटेडको ५२ औं वार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ । 

उक्त सभाले आ.व.२०७४।०७५ मा भएको मुनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत नगद लाभांश र २५ प्रतिशत बोनस शेयर दिने निर्णय गरेको छ।

उक्त वर्ष कर्पोरेशनले कुल मुनाफा रु. १ अर्ब १० करोड ८१ लाख आर्जन गर्न सफल भएको थियो ।

सभामा कर्पोरेशनको सञ्चालक समितिका अध्यक्ष लक्ष्मीदास मानन्धरले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सो क्रममा उनले आ.व. २०७४।०७५ मा रु. ९ अर्ब ६९ करोडको कारोवार गर्न सफल भएको बताए । अघिल्लो बर्ष रु. ८ अर्ब ५८ करोडको कारोवार भएको थियो ।

अध्यक्ष मानन्धरले कर्पोरेशनले नेपाल सरकारको निर्देशन पालना गरी सामाजिक उत्तरदायित्व बहन गर्नु परेकाले कुनै वस्तुमा लागत मूल्यभन्दा कम मूल्यमा सामान बिक्री गर्नु परेकोले अपेक्षित रुपमा मुनाफा आर्जन गर्न नसकेको जानकारी गराएका थिए ।

कर्पोरेशनले यस वर्षको सुरुको ७ महिनाको कारोबारतर्फ माघ मसान्तसम्म रु.४ अर्ब ७९ करोड व्यावसायिक कारोवार गरेको उनले जानकारी दिए ।

नेपाल सरकारले अनुदानमा बिक्री वितरण गर्ने रासायनिक मल चालु आ.व. २०७५।०७६ को कुल रकमको कर्पोरेशनलाई प्राप्त हुने ३० प्रतिशत रकमबाट युरिया २०,००० मे.टन, डिएपी २०,००० मे. टन र पोटास २५०० मे. टन आयात भईसकेको र बाँकी परिमाण यसै आ.व.को अन्त्यसम्ममा आयात भईसक्ने अध्यक्षले जानकारी गराए ।

कर्पोरेशनले भूकम्प प्रतिरोधात्मक प्रविधिको घर निर्माण गर्ने उद्देश्य अनुसार कर्पोरेशनको समेत लगानीमा फ्यूचर वर्कस् विल्डिङ्ग सोलुसन प्रा.लि. कम्पनी स्थापना गरी निर्माण सामग्रीको उत्पादन सुरु गरेको छ  भने कर्पोरेशनको सहायक कम्पनी उपहार हाउजिङ्ग कम्पनी लिमिटेडले उक्त प्रविधिको घरहरु निर्माण गरी बिक्री गर्ने उद्देश्य अनुरुप चन्द्रागिरी नगरपालिका स्थित आफ्नै जग्गामा सो कार्यको थालनी गरेको छ ।