काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले कर्णाली प्रदेशका विभिन्न जिल्लाका १० वटा शाखामार्फत् अत्याधुनिक बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।

कम्पनीले स्थापनाकाल देखिनै कर्णाली प्रदेशमा बैंकिङ विस्तारलाई विशेष प्राथमिकता दिंदै आएको बताएको छ । 

कम्पनीले हुम्ला जिल्लाको सदरमुकाम सिमिकोटसहित नाम्खा र सार्केगाड एवं भौगोलिक हिसाबले देशकै सबैभन्दा ठूलो जिल्ला डोल्पाको दुनै र जुफाललगायत मुगुको गमगढी, जाजरकोटको खलङ्गा र सुर्खेतको विरेन्द्रनगर शाखामार्फत् बैंकिङ  सुविधा प्रदान गर्दै आएको छ । 

यतिमात्र नभई कम्पनीले कर्णाली प्रदेशको भौगोलिक अवस्थालाई ध्यानमा राख्दै ग्राहकलाई सहज रुपमा कृषि, पशुपालन र जडीबुटी सम्बन्धी कर्जा उपलब्ध गराउँदै आएको बताएको छ । 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले कर्णाली प्रदेशको प्रदेश कार्यालय सुर्खेतमा शुक्रबार बडादसैँको उपलक्ष्यमा आयोजित कार्यक्रममा कर्णालीवासीलगायत कर्मचारी एवं बैंकसँग सम्बन्धित सरोकारवालाई शुभकामना व्यक्त गरेका छन् । 

कम्पनीले यसअघि नै कर्णाली प्रदेशको प्रदेश कार्यालय सुर्खेतमा र  जुम्ला शाखा कार्यालय आफ्नै भवनबाट सञ्चालनमा ल्याइसकेको छ । 
कम्पनीले देशभर १८८ वटा शाखा, १४८ वटा एटीएम र  ९७ वटा शाखा रहित बैंकिङ इकाईहरुबाट १६लाख ६४ हजार ग्राहकलाई सेवाहरु प्रदान गर्दै आएको बताएको छ ।