काठमाण्डौ। सिटी एक्सप्रेस मनी ट्रान्सफरद्वारा सामाजिक उत्तरदायित्वअन्तर्गत राष्ट्रिय अपांग कोषलार्ई रु. ५ लाख रकम सहयोग गरेको छ। 

नेपाल सरकार, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमातहत, समाज कल्याण ऐन २०४९ को दफा २६ ले दिएको अधिकार प्रयोग गरी बनाएको कोष स्थापना र सञ्चालन कार्य व्यवस्था नियमावली, २०५५ अन्तर्गत विसं. २०३९ साल देखि सञ्चालित राष्ट्रिय अपांग कोषले देशभरिमा रहेका अपांगता भएका व्यक्तिहरुको अपांगता पुनर्स्थापनाका साथै चौतर्र्फी विकासका लागि शिक्षा, स्वास्थ, रोजगारी र समावेशी समाजका कार्यका लागि समाज कल्याण परिषदद्वारा स्थापित सञ्चालित कोष हो।

राष्ट्रिय अपांग कोषले वार्षिक  १५०० अपांगता भएका व्यक्तिका लागि आवश्यक सहयोग सामग्री जस्तै– कृत्रिम हात खुट्टा, क्यालिफर, वैशाखी, सेतोछडी, वाकिङ स्टिक, ओर्थाेपेडिक जुत्ता तथा अन्य आवश्यक सहायक सामग्री उत्पादन एवं वितरण गर्नुका साथै गुणस्तरीय फिजियोथेरापी, अकुपेसनल र परामर्श सेवा उपलब्ध गराउँदै आएको छ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले राष्ट्रिय अपांग कोषसँग सहकार्य गरी वैदेशिक रोजगारीका क्रममा अपांगता भएकाहरुलाई सेवा पुर्याउने उद्देश्यले राष्ट्रिय अपांग कोषलार्ई उक्त रकम सहयोग गरेको हो।  

सिटी एक्सप्रेसले रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १६ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ। आन्तरिक विप्रेषणअन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १५ हजारभन्दा बढी भुक्तानी केन्द्रमार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिनेजस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ।