काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले आइतबार काठमाण्डौस्थित अपांगता संरक्षण नेपाललाई सामाजिक उत्तरदायित्वअन्तर्गत १०० वटा सेतो छडी वितरणका लागि रु. ९० हजार आर्थिक सहयोग प्रदान गरेको छ। 

उक्त रकम बैंकका तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेलले अपांगता संरक्षण नेपालका अध्यक्ष विरोध खतिवडालाई हस्तान्तरण गरेका हुन्। बैंकबाट प्राप्त उक्त सहयोगबाट अपांगता संरक्षण नेपालले आउँदो मंसिर १७ गते अन्तर्राष्ट्रिय अपांगता दिवसका अवसरमा दृष्टिविहीन व्यक्तिहरुलाई सेतो छडी प्रदान गर्न प्रयोग गर्नेछ। 

अपांगता भएका व्यक्तिहरुको हक, अधिकार तथा जीवनस्तर सुधारका लागि काम गर्दै आइरहेको उक्त संस्थालाई पुर्याएको सो रकम सहयोगबाट दृष्टिविहीन अपांगता भएका व्यक्तिहरुलाई गतिशीलता तथा स्वतन्त्रताका साथ आफ्ना दैनिकी दिनचर्या पूरा गर्न मद्दत पुग्ने विश्वास बैंकले लिएको छ। 

बैंकले विभिन्न सामाजिक उत्तरदायित्व निर्वाहसम्बन्धी कार्यहरुमा सहभागिता जनाउँदै आएको र आगामी दिनहरुमा पनि यसलाई निरन्तरता दिँदै जाने उद्देश्य बैंकको रहेको छ।