काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेड ‘बेस्ट अप्रेसन्स बैंक इन साउथ एसिया–२०२१’ अवार्डबाट सम्मानित भएको छ। 

विश्व बैंक समूहको सदस्य इन्टरनेसनल फाइनान्स कर्पोरेन्स (आईएफसी) द्वारा आयोजित १०औँ ग्लोबल ट्रेड अवार्डमा बैंकले उक्त उपाधि प्राप्त गरेको हो। आईएफसीको ट्रेड फाइनान्स कार्यक्रमअन्तर्गत ५०० साझेदार बैंकहरुको प्रतिस्प्रधात्मक प्रक्रियाका आधारमा विभिन्न विधाहरुमा ४८ विजेताहरु छनोट गरिएको हो। जसमध्ये सिद्धार्थ बैंकले सो अवार्ड प्राप्त गरेको हो।

आईएफसीअन्तर्गत रहेका नेटवर्क बैंकहरुमध्ये आफ्ना ग्राहकलाई सरल र सहज ढंगले उत्कृष्ट बैंकिङ सेवा प्रदान गर्दै सिद्धार्थ बैंक एउटा सक्रिय साझेदार बैंकको रुपमा प्रस्तुत हुन सफल भएको हो। उक्त अवार्ड शुक्रबारका दिन एक कार्यक्रममा आईएफसीका तर्फबाट बंगलादेश, भुटान र नेपालका लागि कन्ट्री म्यानेजर मार्टिन होल्टम्यानद्वारा सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेललाई हस्तान्तरण गरिएको हो।

आफ्ना ग्राहकप्रतिको प्रतिबद्धतालाई यस उपाधिले थप मजबुत बनाउने र आगामी दिनहरुमा अझ उच्चस्तरिय सेवा प्रदान गर्न यस उपाधिले बैंकलाई प्रेरित गरेको छ। यस खुसीका अवसरमा बैंकले अटुट सहयोगका लागि आफ्ना ग्राहक, सरोकारवाला र सम्पूर्ण शुभचिन्तकप्रति हार्दिक कृतज्ञता व्यक्त गरेको छ। 

सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले देशभर १९० वटा शाखा (४ एक्सटेन्सन काउन्टरसहित), ११४ शाखारहित बैंकिङ सेवा र १ हजार ५०० भन्दा बढी पीओएस मेसिनमार्फत उच्चस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको छ।