काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले डिजिटल प्रविधिको सदुपयोग गर्दै ग्राहकलाई छिटो तथा सहज सुविधा उपलब्ध गराउने उद्देश्यले अनलाइनमार्फत डिम्याट खाता खोल्न सकिने सुविधा ल्याएको छ।

अब नयाँ डिम्याट खाता खोल्न परेमा ग्राहकले भौतिक रुपमा बंैकसम्म उपस्थित नभई घरबाटै डिम्याट खाताका लागि आवेदन दिन सक्नेछन्। यसका लागि ग्राहकले बैंकको वेबसाइटमा गई (EasyBank > Demat Services > Demat Account) वा सोझै https://onlinedemat.siddharthacapital.com/ मा गई आवश्यक विवरण भरी सहज रुपमा अनलाइनमार्फत आवेदन दिन सक्नेछन्। ग्राहकले डिम्याट खाताका लागि आवेदन दिनुका साथै मेरो सेयर र सीआरएनका लागिसमेत आवेदन दिन सक्नेछन्। 

ग्राहकले पेस गरेको आवेदनलाई सिद्धार्थ क्यापिटलले डिम्याट खाता खोल्ने प्रक्रिया अघि बढाई फ्रिज स्थितिमा डिम्याट खाता खोल्नेछ। डिम्याट खाता खोलिसकेपश्चात ग्राहकलाई व्यक्तिगत प्रमाणीकरणका लागि परिचय खुल्ने कागजातसहित ६० दिनभित्र नजिकको बैंक शाखा वा क्यापिटलमा उपस्थित हुन ई–मेल र एसएमएसमार्फत जानकारी गराइनेछ। 

ग्राहकले परिचय खुल्ने कागजातसहित स्वयं उपस्थित भएपश्चात बैंकले ती कागजात प्रमाणीकरण गरी डिम्याट खाता सक्रिय गर्नेछ। यसका साथै ग्राहकले मेरो सेयर र सीआरएनका लागि आवेदन दिएका छन् भने मेरो सेयर र सीआरएनको प्रक्रिया अघि बढाई ग्राहकलाई आवश्यक विवरणहरु ई–मेल मार्फत प्रदान गरिने बैंकले जनाएको छ। 

बैंकले ल्याएको अनलाइनमार्फत डिम्याट खाताका लागि आवेदन दिन सकिने व्यवस्थाले ग्राहक बैंकमा पुगेर लामो समयसम्म लाइनमा बस्नु नपर्ने र समयको बचत हुनुका साथै ग्राहकलाई थप सुविधा पुग्ने विश्वास बैंकले लिएको छ। यस व्यवस्थाले बैंकिङ प्रणाली अझ बढी प्रभावकारी र ग्राहकमैत्री बन्नेछ।