काठमाण्डौ । सिभिल बैंक लिमिटेड र हेल्भेटास स्विस इन्टरकर्पोरेशन नेपालको सहकार्यमा प्रदेश नं.२ र कर्णाली प्रदेशभित्रका वित्तीय पहुँच नपुगेका स्थानीय निकायहरुमा वित्तीय पहुँच पुर्याउनुका साथै सीप प्रवद्र्धन, व्यावसायिक कृषि तथा उत्पादनमुलक तालिम प्रदान गरी कृषिव्यवसायलाई आधुनिकीकरण तथा बजारीकरण गर्ने विषयमा सम्झौता भएको छ ।

सम्झौतापत्रमा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र हेल्भेटास स्विस इन्टरकर्पोरेसन नेपालका राष्ट्रिय निर्देशक डा. भरतकुमार पोखरेलले हस्ताक्षर गर्नुभएको छ । सम्झौताअनुसार हेल्भेटास स्विस इन्टरकर्पोरेसन नेपालले प्रदेश नं. २ र कर्णाली प्रदेशभित्रका स्थानीय कृषकहरुलाई प्राविधिक तालिम प्रदान गर्नुका साथै कृषिबजारलाई व्यवस्थित गर्न कार्य गर्ने छ भने बैंकले वित्तीय साक्षरता प्रदान गर्दै उक्त क्षेत्रमा शाखारहित बैंकिङ सेवामार्फत बैंकिङ सेवा प्रदान गर्ने छ ।

उक्त अवसरमा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले यो सम्झौताले बैंकिङ सेवाबाट वन्चित रहेका ती क्षेत्रका स्थानीयलाई बैंकिङ सेवामार्फत बचत गर्ने बानीको विकास गर्ने तथा स्थानीयस्तरमानै केही गर्ने सोचसहित व्यवसायमा संलग्न हुने स्थानीयलाई सहज रुपमा कर्जा उपलब्ध गराई त्यस क्षेत्रको आर्थिक विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । 

मुलुकको विकासका लागि स्थानीय तहको श्रोतसाधनहरु परिचालन गर्दै स्वरोजगार क्षेत्रमा काम गर्न यस सहकार्यको महत्वपूर्ण भूमिका खेल्ने कुरामा विश्वस्त रहेको कुरा डा. भरतकुमार पोखरेलले बताउनु भयो ।