काठमाण्डौ। एसके प्रालिले भारतको सुदर्शन केमिकल इन्डस्ट्रिजसँग च्यानल पार्टनरका रुपमा काम गर्ने भएको छ। 

हालै दुई कम्पनीका अधिकारीबीच यससँग सम्बन्धित सहमतिमा हस्ताक्षर भएको हो। उक्त सहमतिअनुरुप एसकेले प्लास्टिक उद्योगहरुका लागि आवश्यक पर्ने सुदर्शन केमिकलका ‘केमिकल पिग्मेन्ट’को बजारीकरणका साथै वितरणको काम समेत गर्नेछ। ‘पिग्मेन्ट’ प्लास्टिकजन्य विभिन्न सामग्रीको उत्पादन गर्दा विशेष रङ थप्न आवश्यक पर्दछ। 

यो सहमतिपछि अब एसकेले आफ्ना स्थानीयस्तरका गोदामहरुबाट सहज रुपमा केमिकल पिग्मेन्ट उपलब्ध गराउनेछ। यो कार्यले ग्राहकमा पर्ने व्यवस्थापनको दवाब र कार्यशील पुँजीलगायतमा समेत सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ। 

सुदर्शन इन्डियाले विगत ६० वर्षभन्दा बढी समयदेखि उच्च गुणस्तरका अर्गानिक र इन–अर्गानिक पिग्मेन्ट र इफेक्ट पिग्मेन्टहरु उत्पादन गर्दै आइरहेको छ। यस्ता पिग्मेन्टहरु प्लास्टिक, कोटिङ्ग्स, सौन्दर्य प्रसाधन र विशेष उद्योगका उत्पादनहरुमा प्रयोग हुँदै आएको छ। 

सुदर्शन इन्डियाको सेल्स यूनिटका डेपुटी जनरल म्यानेजर कुशल चक्रवतीका अनुसार सुदर्शन केमिकल विश्वको तेस्रो ठूलो पिग्मेन्ट कम्पनीका रुपमा चिनिन्छ। विगत ४० वर्षदेखि वितरकका रुपमा काम गर्दै आइरहेको एसके प्लास्टिक उद्योगसँग सम्बन्धित कच्चा पदार्थ, रसायन र मेसिनरी आपूर्तिका लागि ‘टिबरेवाला’को नामले परिचित छ। 

सुदर्शनसँग च्यानल पार्टनरका रुपमा काम गर्न पाउँदा आफूहरु उत्साहित भएको एसकेका कार्यकारी निर्देशक एलएन सिंहले बताए। उनका अनुसार यो सहमतिले ग्राहकको सन्तुष्टि बढाउन मद्दत पुग्नेछ।

यस्तै स्थानीयस्तरमा बिक्री केन्द्रहरु खोलेर गुणस्तरीय सेवासमेत दिइने सिंहको प्रतिबद्धता छ। ‘हामी सधैँ ग्राहकको आवश्यकतालाई विशेष प्राथमिकता दिनेछौँ’, उनले भने।