काठमाण्डौ । आफ्ना ग्राहकहरुलाई सेवा र सुविधा उपलब्ध गराउने अभिप्राय साथ सनराइज बैंकले देशका विभिन्न भागमा आक्रामक रुपमा शाखा विस्तार गर्दै आइरहेको छ । यसै क्रममा बैंकले सुनसरीको इनरुवामा आइतबारदेखि १२४ औँ शाखा सञ्चालनमा ल्याएको छ ।

एक कार्यक्रमबीच इनरुवा नगरपालिकाका मेयर राजन मेहेता र सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले संयुक्त रुपमा शाखा कार्यालयको उद्घाटन गरे भने इनरुवा वडा १ का वडाध्यक्ष रामचन्द्र पोद्घार र इनरुवा उद्योग वाणिज्य संघका अध्यक्ष वीरेन्द्र शाहले संयुक्त रुपमा एटिएमको उद्घाटन गरे ।

कार्यक्रममा बैंकका अन्य पदाधिकारीको पनि उपस्थिति थियो। सोही उद्घाटन समारोहमा जनक शर्मा पौड्यालले कृषि क्षेत्रलाई बैंकले सधैँ प्राथमिकतामा राख्दै आएको र आगामी दिनमा पनि प्राथमिकताका साथ अधि बढाउँदै लाने बताए ।

हालसम्म सनराइज बैंकले १२४ वटा शाखा, ३८ वटा शाखारहित बैंकिङ सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १४५ वटा एटिएममार्फत आफ्ना करिब ६ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।