काठमाण्डौ । सूर्य नेपाल गल्फ टुर २०२१–२२ अन्तर्गत सिजनको पाँचौँ इभेन्ट सुर्य नेपाल वेस्टर्न ओपनको पहिलो दिन १३ औं सागको दोहोरो स्वर्णविजेता एमेच्योर सुभाष तामाङले अग्रता लिएका छन्।

हिमालयन गल्फ कोर्स पोखरामा सुभाष पहिलो दिन २ अन्डर ६६ स्कोरका साथ शीर्षस्थानमा रहेका छन्। दोस्रो स्थानका जयराम श्रेष्ठले इभन पार ६८ स्कोर बनाए। स्थानीय एमेच्योर अजित विक र व्यावसायिक गल्फर रमेश अधिकारी १ ओभर ६९ स्कोरसाथसंयुक्त तेस्रो स्थानमा छन्।

रामे मगर २ ओभर ७० स्कोरका साथ पाँचौ स्थानमा छन्। दिनेश प्रजापति, निरज तामाङ र धनबहादुर थापा ३ ओभर ७१ स्कोरका साथ संयुक्त छैटौँ तथा भुवन नगरकोटी र रवि खड्का ४ ओभर ७२ स्कोर जोड्दै शीर्ष १० स्थानमा छन्। भुवनले सातौँ होलमा होल इन वनप्रहार गरे पनि अन्तिम होलमा क्वाड्रपल बोगी खेप्न पुगे।

शीर्षस्थानका एमेच्योर सुभाषले तेस्रो, पाँचौँ, छैटौँ, १३ औँ र १६ औँ होलमा बर्डि प्रहार गरे। उनले नवौँ होलमा डबल बोगी र १० औँ होलमा बोगी खेपे।

प्रोफेसनल गल्फर्स संघ नेपालको आयोजना र सूर्य नेपाल प्रालिको प्रायोजनमा हुने प्रतियोगिता ३० मार्चदेखि १ अप्रिलसम्म हुनेछ। ५४ होलको प्रतियोगितामा २५ व्यावसायिक र १४एमेच्योर खेलाडीको सहभागिता रहनेछ। 

इभेन्टको अन्तिम दिन २ अप्रिल शनिबारप्रोएम इभेन्ट हुनेछ। नेपालभरका व्यावसायिक गल्फरले मनमोहक दृश्यसहितको गल्फ कोर्समा प्रतिस्पर्धा गर्नेछन्।