काठमाण्डौ । धरानका प्रोफेसनल गल्फर शुक्रबहादुर राई ३–अन्डर ६९ को स्कोरसहित समग्रमा १९–अन्डर २६९ को सानदार नतिजामा सूर्य नेपाल गल्फ टुर २०२१–२२ अन्तर्गत सिजनको अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियन बन्न सफल भएका छन्। 

करियरकै उत्कृष्ट स्कोर निकालेका शुक्रले धरानकै निरज तामाङलाई ६ स्ट्रोकले हराउँदै करियरको सातौँ उपाधि हात पारे। उपाधिसँगै जितेको नगद २ लाख ५० हजारले शुक्र पहिलोपटक नेपाल नम्बर १ गल्फर बनेका छन्। उनले यो सिजनको कुल ८ मध्ये ५ प्रतियोगितामात्र खेले पनि सर्वाधिक ६ लाख ६३ हजार ५०० नगद पुरस्कारसहित नम्बर १ बनेका हुन्। 

२–ओभर ७४ सहित समग्रमा १३–अन्डर २७५ सहित निरज दोस्रो भए। समग्रमा १२–अन्डर २७६ सहित तेस्रो भएका भुवनले नम्बर १ गल्फरको स्थान गुमाए। उनले अन्तिम दिन २–अन्डर ७० स्कोर जोडे। यो सिजन कुल ५ लाख ८० हजार ५०० नगद पुरस्कारसहित दोस्रो स्थानमा तल झरे। 

एमेच्योर वाङचेन ढोन्डुपले १–ओभर ७३ सहित समग्रमा ११–अन्डर २७७ सहित एमेच्योरतर्फ उपाधि जिते। समग्रमा भने उनी चौथो भए। 

अर्का एमेच्योर महेन्द्र फगामी समग्रमा १०–अन्डर २ सय ७८ सहित एमेच्योरतर्फ दोस्रो भए। उनले अन्तिम दिन ३–अन्डर ६९ को स्कोर गरे। समग्रमा भने उनी पाँचौँ भए। 

एमेच्योरतर्फ एकक्षत्र राज गरिरहेको सुवास तामाङले समग्रमा ७–अन्डर २८१ सहित पूर्ण बहादुर शर्मासँग संयुक्त रुपमा छैटौँ स्थान बाँडे। सुवासले ५–अन्डर ६७ र पूर्णले इभन–पार ७२ मा खेल सकाए। इभन–पार ७२ सहित समग्रमा ५–अन्डर २ सय ८३ सहित एमेच्योर आरव डी शाहले आठौँ स्थानमा प्रतियोगिता सकाए। 

भुवनकुमार रोक्का र रवि खड्काले समग्रमा ३–अन्डर २८५ सहित संयुक्तरुपमा नवौ स्थान बाडे। अन्तिम दिन भुवनले २ ओभर ७४ र रबिले १–ओभर ७३ मा खेल सकाए। एमेच्योर सद्भाव आचार्य समग्रमा २–अन्डर २८६ सहित ११ औँ र समग्रमा इभन–पार २८८ सहित सुर्य प्रसाद शर्मा १२ आँै स्थानमा रहे। 

पाँच ओभर २९३ सहित व्यावसायिकतर्फ १५ औँ भएका जयराम श्रेष्ठले ४ लाख ७५ हजार ५०० सहित उनले आगामी सिजनको सुरुवात तेसय स्थानबाट गर्नेछन्। 

चारदिने प्रतियोगितामा ४३ प्रोफेसनल र ११ एमेच्योर सहित ५४ खेलाडीको सहभागिता थियो। सूर्य नेपाल प्रालिको प्रायोजनमा नेपाल प्रोफेसनल गल्फर्स संघद्वारा आयोजित प्रतियोगिताको कुल पुरस्कार राशि १४ लाख ६१ हजार रहेको छ। विजेताले २ लाख ५० हजार, दोस्रो र तेस्रो हुनेले क्रमशः १ लाख ५५ हजार र १ लाख १० हजार प्राप्त गरे। विजयी खेलाडीलाई सूर्य नेपाल प्रालिका मार्केटिङ उपाध्यक्ष दीपरा लहेरी, नेपाल प्रोफेसनल गल्फर्स संघका अध्यक्ष रवीन्द्र मान श्रेष्ठ र नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले पुरस्कार वितरण गरे।