काठमाण्डौ । सेयर लगानीकर्तालाई सहजताका साथ प्राविधिक विश्लेषणको सुविधा प्रदान गर्दै स्मार्ट कारोबार मोबाइल एप सञ्चालनमा आएको छ। 

होम सर्भिस ट्रेड लिंक प्रालिले डेभलप गरेको एप यसअघि अनौपचारिक रुपमा सञ्चालनमा आए पनि अहिले ‘फुल भर्सन’ लन्च भएको हो। एक वर्षअगाडि नै स्मार्ट कारोबारको ‘बेटा भर्सन’ सार्वजनिक भए पनि तथ्यपरक तथ्यांक उपलब्ध गराउने प्रणालीको विकासमा समय लागेका कारण स्मार्ट कारोबारको अपडेटेड भर्सन लन्च हुन सकेको थिएन। सबै प्राविधिक कमी कमजोरीहरुलाई सुधार गरेपछि होम सर्भिसले स्मार्ट कारोबार एप गुगल प्लेस्टोरमा उपलब्ध गराएको हो। 

एपमा प्राविधिक विश्लेषणका अतिरिक्त वाचलिस्ट, लाइभ डाटा, एभरेज प्राइस, कम्पनी स्टाटस, कोरिलेसन, अड लट, फिबोनाची, न्यारो रेन्जजस्ता फिचर छन्। 

यो एपले सेयरसम्बन्धी अनुभव भएका व्यक्तिहरुलाई मात्र नभई सेयर बजारको ज्ञान नभएका व्यक्तिहरुलाई पनि ज्ञान हासिल गर्न सहयोग गर्ने होम सर्भिस ट्रेड लिंकका प्रबन्ध निर्देशक दामोदर श्रेष्ठले बताए। “म आफैँ प्राविधिक विश्लेषण गर्छु। आफू पनि सक्रिय रुपमा सेयर कारोबार गरिरहेको बेला कम्पनी एनालाइसिस गर्न समय लाग्ने भएकाले लगानीकर्ताको समय बचत होस् भन्नका लागि सूचीकृत सबै कम्पनीको रियलटाइम एनालाइसिस एपमा उपलब्ध गराइएको हो’, उनले भने, ‘अड लटको सेयर किनबेचका सम्बन्धमा जानकारी आदानप्रदान गर्न अडलट फोरम पनि एपमा उपलब्ध गराइएको छ।’

यसैगरी एपमा उपलब्ध गराइएका फिचरहरुलाई लिएर प्रयोगकर्तामा कुनै दुविधा भएमा उक्त द्विविधाहरु हटाउनका लागि निःशुल्क तालिम प्रदान गरिने श्रेष्ठले जानकारी दिए। प्याकेजमा उपलब्घ गराइएका सेवाहरु प्रयोग गर्नका लागि प्रयोगकर्ताहरुले बेसिक प्याकेज तथा प्रिमियम प्याकेज खरिद गर्न सक्नेछन्। 

एप प्रयोगकर्ताहरुले १५ दिनसम्म परीक्षणका लागि सबै फिचरहरु निःशुल्क प्रयोग गर्न पाउने छन् भने त्यसपछिको बेसिक प्याकेज मासिक १९९ र प्रिमियम प्याकेज मासिक ३९९ रुपैयाँमा लिन सक्नेछन्। यस्ता प्याकेजको वार्षिक भुक्तानीमा ३५ प्रतिशत छुट उपलब्ध गराउने श्रेष्ठले जानकारी दिए। यी प्याकेजको रकम भुक्तानी इसेवाबाट गर्न सकिनेछ। यसका साथै ३ जनालाई रिफरल पठाएर १ महिनाको प्रिमियम प्याकेज निशुल्क प्रयोग गर्न सकिन्छ।

नेपाली सेयर बजारमा नवलगानीकर्ताहरु प्रवेश गर्दा बजारमा आकर्षण बढे पनि सेयर बजारसम्बन्धी ज्ञान नहुँदा धेरै मानिसहरु नोक्सान व्यहोर्न बाध्य छन्। 

त्यस्ता लगानीकर्ताले यो एपबाट धेरै जानकारी तथा सूचना, तुलनात्मक अध्ययनलगायतको सदुपयोग गर्न सक्छन्। यस आधारमा लगानीकर्तालाई सेयरसम्बन्धी ज्ञान प्राप्त गर्न स्मार्ट कारोबार एप महत्वपूर्ण हुने श्रेष्ठको दाबी छ। 

लन्च भएको केही दिनमा नै एपका प्रयोगकर्ताहरुको संख्या ४ हजारभन्दा धेरै पुगेको छ। एप तथा एपभित्रको फिचर सजिलै बुझ्न र चलाउन सकिने भएकोले डाउनलोड गर्नेको संख्या दिनहुँ बढिरहेको कम्पनीका प्रबन्ध निर्देशक श्रेष्ठले बताए।

यसैगरी हरेक साँझ ६ बजे स्मार्ट कारोबारको टिमले जुममार्फत एपभित्रका सम्पूृर्ण फिचरको बारेमा जानकारीमुलक छलफल गर्नुका साथै निःशुल्क प्राविधिक विश्लेषणसमेत गराउँदै आएको छ।