काठमाण्डौ । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय वाणिज्य बैंक र विशाल फाउन्डेसनले आयोजना गरेको नवप्रवर्तन प्रस्ताव आह्वान अथार्त स्टार्टअप आइडिया कल कार्यक्रममा आइडिया पठाउने समय १५ दिन थप गरिएको छ। 

बागमती प्रदेश र यस प्रदेशभित्र उद्यम सञ्चालन गर्न चाहने देशभरका युवाले आफ्नो आइडिया पठाउनका लागि समय अपुग भएको र अन्तिमपटक म्याद थपका लागि अनुरोध गरेबमोजिम एकपटकका लागिमात्र १५ दिन अवधि रहने गरी यही फागुन १५ गतेसम्म आइडिया पठाउने समय थप गरिएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डा. सिन्धुप्रसाद ढुंगानाले जानकारी दिए। 

गत मंसिर २४ गतेबाट सुरु भई माघ मसान्तसम्म आवेदन माग गरिएकोमा माघ मसान्तसम्म ८७० वटा आवेदन पर्न गएको स्टार्टअप आइडिया कल कार्यक्रमका संयोजक विशाल गैरेले जानकारी दिए। उत्पादन र सेवामूलक क्षेत्रमा सिर्जनात्मक रुपमा उद्यम गर्न चाहने युवाहरुको संख्या बढिरहेको र उनीहरुले समय थप गर्न आग्रह गरेबमोजिम फेरि नथप्ने गरी म्याद थप गरिएको उनले प्रस्ट पारे। 

राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले प्राप्त आइडियाहरुमध्ये उत्कृष्ट आइडिया छनोट गरी निःशुल्क तालिम प्रदान गर्ने, पुरस्कृत गर्ने र सहुलियतपुर्ण कर्जा प्रवाह गर्नेलगायतका उद्यमी बन्नका लागि आवश्यक पूर्ण प्याकेजको कार्यक्रम भएकाले नै नेपाली युवाहरुमा उत्साह थपिएको बताए। उनले यसलाई सफल बनाउन मन्त्रालय, बैंक र फाउन्डेसनले मिलेर काम गरिरहेको जानकारी दिए। 

प्रस्ताव पठाउन र यससम्बन्धी थप जानकारीका लागि www.startupideacall.org लगइन गरी छुटेका युवाहरुलाई आइडिया पठाउन आग्रह गरिएको छ।