भरतपुर ।
घटना नम्बर १ :
भरतपुर बजार नजिकै भव्य पुराण लागेको थियो । हिन्दू धर्मावलम्बीहरुले खचाखच भरिएको पुराणमा करिब ५ सयको सहभागिता थियो । निर्वाचनको मुखमा भएको पुराणको सो स्थल भोट माग्नेहरुका लागि उपयुक्त थलो समेत थियो । कांग्रेसको कुनै नेताले त्यहाँ गएर सहभागी बन्नुुपर्ने र भोट माग्नुपर्ने प्रसंग उठाए । कांग्रेसको समेत तालमेलमा भरतपुर महानगरपालिकाको मेयरमा चुनाव लडिरेहकी प्रचण्डपुत्री रेणु दाहालले सुरुमा सो प्रस्तावमा ध्यान नै दिइनन् । तर, ‘५ सय बढी छन्, त्यहाँ जानु नै पनि प्रभावकारी हुन्छ’ भनेर कांग्रेस नेताहरुले जोड गरेपछि उनी जान तयार भइन् । कांग्रेस–माओवादीको संयुक्त चुनावी टोली त्यहाँ पुुग्यो । भगवान थापेको ठाउँमा पुुगेपछि सबैले शिर निहुर्याए, भक्तिभाव देखाए । तर, अचम्म, प्रचण्डपुत्री रेणु दाहालले कुनै मतलब गरिनन् । कांग्रेस नेताहरुले पुराणमा देउता राखेको ठाउँमा नमस्कार गर्न आग्रह गरे, दाहालले ठाडै अस्वीकार गरिन्, उनको त्यो हर्कत देखेर पुराणमा सहभागी भक्तजन समेत चकित परे । दुवै पार्टीको उम्मेद्वार आएपछि पुराण आयोजकले आसन ग्रहण गराए । आसन ग्रहणमा छँदा पुराण बाचक र गुरुहरु रेणुसँग बोल्न खोज्थे, तर उनले उनीहरुलाई समेत वास्ता गरेको देखिएन । एक प्रत्यक्षदर्शी कांग्रेस नेताले भने–‘उनको घमण्डी व्यवहार, जनतामा भिज्न नसक्ने र परिस्थिति अनुकुल हुन नसक्ने केटाकेटीपनले चुनाव जितिन्छ भन्ने लाग्दैन हामीलाई ।’ ती नेताका अनुसार प्रचण्डपुत्रीलाई त्यहाँ देखेपछि कतिपय गुरुहरुले हिन्दू राष्ट्रको कुरा उठाए, उनको धारणा मागियो, तर दाहाल गमक्क परेर बसिन् मात्र, एक शब्द बोलिनन् । कांग्रेसकी उपमेयरकी उम्मेद्वार पार्वती शाह उनी भन्दा निकै सक्रिय देखिइन् । ती कांग्रेस नेताको बुुझाईमा दाहालले ५ सयको समूहमा आफ्नो छवि बिगारिन्, उनमा कच्चापन रहेछ भन्ने देखाइन् । राजनीतिमा परिस्थिति अनुसार हिँड्नुपर्छ र बोल्नुपर्छ, जनतासँग भिज्नुपर्छ भन्ने मान्यता उनमा नरहेको पाइएको ती नेताले बताए । ‘संयुक्त कार्यक्रममा हिँड्दा रेणुकै कारण हामीलाई धेरै ठाउँमा लाजमर्नु भएको छ ।’ ती नेताले भने । 

घटना नम्बर २ : भरतपुर बजारमा कांग्रेस र माओवादीको संयुक्त चुनावी अभियान आयोजना गरिएको थियो । बजार क्षेत्र भएकोले उम्मेद्वारहरुलाई डाला भएको गाडी पछाडि बसेर हात हल्लाउँदै नगरबासीमाझ भोट माग्न भनियो । कांग्रेस नेताहरुले कांग्रेसको एक गाडीमा मेयर र उपमेयरका उम्मेद्वारलाई राखेर बजार क्षेत्र परिक्रमा गर्नुपर्ने जायज कुरा उठाए । रेणुु दाहाललाई कांग्रेस उम्मेद्वार चढेको गाडीमा आउन भनियो, तर उनले त्यो प्रस्ताव समेत अस्वीकार गरिन् । ‘चुनावमा तालमेल गरेर संयुक्त अभियान चलाइरहेको कांग्रेसको गाडीमै आउन नमान्नेलाई कांग्रेस कार्यकर्ताले भोट दिन्छन् भनेर कसरी मान्ने ?’ नेविसंघका एक जिल्ला नेताले भने–‘रेणु दाहालको हर्कत नसुहाउने भयो । भोट चाहि कांग्रेसको चाहिने र अनि कांग्रेसको गाडीमा आउन केको आपत्ति ? यस्तो छुवाछुतजस्तो व्यवहार किन ? उनकै स्वभावका कारण उनले पाउने ठाउँ र व्यक्तिबाट समेत भोट नपाउने अवस्था देखिएको छ ।’ 

घटना नम्बर ३ : भरतपुर महानगरपालिकाको वडा नम्बर २८, जितपुर(मेघौली)मा कांग्रेस र माओवादीले संयुक्त चुनावी कार्यक्रम तय गरे । सो कार्यक्रमलाई सम्बोधन गर्न कांग्रेस र माओवादीको टोली उम्मेद्वारसहित संयुक्त रुपमा जाने कुरा भयो । रेणु दाहाल त्यसका लागि उत्साहित भएर बाटो लागिन्, तर जगतपुर नपुुग्दै स्थानीय कांग्रेस नेता तथा कार्यकर्ताबाट खबर आयो–‘रेणुलाई लिएर यहाँ नआउनु, भएको वातावरण पनि बिग्रन्छ । रेणुु दाहाल आए कार्यक्रम बहिस्कार गर्ने भनेर स्थानीय कांग्रेस कार्यकर्ताले भनिरहेका छन् । उल्टो पार्टीलाई असर गर्छ ।’ यो खबर आएपछि जस्ताको तस्तै कांग्रेस नेताहरुले रेणुुलाई अवस्थाको बिषयमा सुुझाए । चुनावको मुखमा बहिस्कारको समाचार बनिने डरले रेणु दाहालको टोली बीच बाटोबाटै फर्किनुपर्यो । संयुक्त रुपमा गर्ने भनिएको कार्यक्रममा कांग्रेसका उम्मेद्वार र नेता मात्र पुुगे, सम्बोधन गरे र फर्किए । 

यी केही घटनाक्रम मात्र हुन्, भरतपुरमा माओवादी र कांग्रेसले गरेको चुनावी तालमेल लगभग असफल जस्तै देखिएको छ । चुनावी प्रचार–प्रसारको क्रममा देखिएका यस्ता अनेकन घटनाले समेत उत्तर र दक्षिणतिर मुख फर्काउनेहरुको मिलन असंभव रहेको देखिन्छ । बाहिर प्रचार जे–जे गरिए पनि रेणु दाहाललाई मेयरको रुपमा स्वीकार गर्ने कांग्रेस केन्द्रको निर्णय नै धरापमा छ भने यसले पार्टीभित्रै पनि निकै ठूलो भाँडभैलो मच्चाइदिएको छ । कांग्रेसभित्रको ठूलो समूह रेणुुको पक्षमा नहुनु, माओवादीभित्रै पनि प्रचण्डको पुत्रीमोहका कारण चरम असन्तुष्टि देखिनु, त्यसमा चुनावी अभियानको क्रममा रेणुुको लोकप्रियतामा दिनहुँ क्षयीकरण हुँदै जानुु र उनको बचपनादेखि मानिसहरु दिक्क हुनुु लगायतका आधारले समेत स्थानीय निर्वाचनमा प्रचण्डपुत्रीले जित्नु फलामको चिउरा चपाउनुभन्दा कठीन हुने देखिएको छ । 

कांग्रेसीजनको यस्तो रणनीति
कांग्रेस निकट एक कानून व्यवसायीका अनुसार कार्यकर्ताहरुले स्थानीय निर्वाचनमा मेयर पदमा माओवादीलाई भोट हाल्दैनन् । ‘धेरै बुढापाकाहरुले बरु गाईलाई हाल्ने भनिरहेका छन् ।’ ती कानून व्यवसायीले भने–‘भोट क्रस भएर ठूलो संख्यामा एमालेलाई पनि जाने देखिन्छ ।’ नेविसंघका एक स्थानीय नेताका अनुसार भरतपुरमा रहेको क्रियाशील कांग्रेसीहरुमध्ये ६० प्रतिशत भन्दा बढीले रेणुुलाई भोट हाल्दैनन् । ‘केन्द्रको तालमेलको प्रयास असफल नै भइसक्यो भनेर मान्नुहोस् ।’ उनले भने–‘युद्धकालमा छानी–छानी कांग्रेसीहरुलाई गोली ठोक्ने पार्टीकै नेतालाई कसरी हामीले भोट हाल्ने भनेर चौतर्फी आक्रोश छ । यसले हाम्रै पार्टीभित्र पनि ठूलो भाँडभैलो छ ।’ 

ती नेविसंघ नेताकाअनुसार यसैको प्रतिबिम्ब थियो, भरतपुरको आइल्याण्ड होटलमा भएको कुटाकुट र हंगामाको घटना । आफ्ना कार्यकर्ताले भोट नहाल्ने बुुझेका जिल्ला नेताहरुले केन्द्रको निर्देशनअनुसार अगुवा कार्यकर्तालाई होटलमा बोलाएर सम्झाउन खोजेका थिए । तर, अगुवा कार्यकर्ताले हंगामा गरेपछि कार्यक्रम नै बिथोलिएको थियो । ‘अहिले नै यति ठूलो आक्रोश छ भने यिनै कार्यकर्ताले माओवादीलाई भोट हाल्छन् भनेर कसरी पत्याउने ?’ कांग्रेसकै एक नेताले भने–‘कांग्रेसबाट माओवादीलाई भोट जाँदैन, एकदुुई नेताले हाल्दैनमा जित्ने अवस्था हुँदैन ।’ 

यसरी कांग्रेसभित्रको चरम असन्तुष्टि र विद्रोहको फाइदा थोरै एमालेलाई र धेरै राप्रपालाई हुने देखिन्छ । अधिकांश बुढा कांग्रेस कार्यकर्ताले राप्रपाको गाई छापमा मतदान गर्ने तयारी गरेका स्रोतहरुले बताएका छन् । भरतपुर एमालेको निकै राम्रो पकड क्षेत्र हो । यदि कांग्रेसमा पनि युवाहरुको मत माओवादीबाट क्रस भई एमालेतर्फ आयो भने यहाँ एमाले उम्मेद्वारको जित सुनिश्चित रहेको स्रोतहरु बताउँछन् । ‘फ्याट्ट राप्रपाका उम्मेद्वार अगाडि आए भने पनि आश्चर्य नमान्दा हुन्छ ।’–एक कांग्रेस कार्यकर्ताको दाबी छ । 

माओवादीभित्र चरम असन्तुष्टि
दिनरात पार्टीका लागि जिल्लामा बसेर खटिने एउटा, टिकट पाउने बेलामा टपक्क टिपेर छोरीलाई पठाउने प्रवृतिको माओवादी केन्द्रभित्रै पनि निकै ठूलो विरोध भइरहेको छ । यही कारण रेणुको चुनावी अभियानमा माओवादी केन्द्र चितवनका अध्यक्ष इन्द्र परियार लगायतका नेताहरुको सहभागिता छैन । रेणुको चुनावी अभियान गाउँ–गाउँमा गएर गीत गाउने र पैसा संकलन गर्ने कलाकारको टोलीजस्तो निकै फितलो र कमजोर देखिएको छ । पार्टीभित्रकै नेता तथा कार्यकर्ता समेत नातावादबाट रुष्ट भई देखाइदिने रणनीतिमा रहँदा माओवादीकै प्रतिबद्ध भोट पनि रेणुले नपाउने अवस्था छ । त्यस्ता रुष्ट कार्यकर्ताले आफ्नो भोट कम्युनिष्ट भएको नाताले एमालेमा खसाउने अवस्था रहेको माओवादीका एक जिल्ला नेताले बताए । ‘पार्टीमा पार्टी अध्यक्षको पुत्रीमोहप्रति निकै ठूलो असन्तुष्टि छ ।’ ती नेताले भने–‘रेणुलाई चुनाव जित्न निकै गाह्रो छ ।’

देउवा र प्रचण्डले मन फर्काउलान् ?
चुनावी तालमेल नै धरापमा पर्ने र आफ्नी पुत्रीको हार्ने अवस्था देखिएपछि प्रचण्डकै योजनामा बिहीबार(आज) भरतपुरमा देउवा समेतको सहभागितामा माओवादी कांग्रेसका आमसभा हुँदैछ । यो सभाबाट देउवाले भड्किएका आफ्ना कार्यकर्तालाई सम्झाउने र बुुझाउने छन् भने प्रचण्डले समेत पुत्रीमोहको कलंक पखाल्न जिल्लाका नेता तथा कार्यकर्ताहरुलाई सम्झाउने छन् । तर दुुई पार्टीका केन्द्रीय कमाण्डर आएर सम्बोधन गर्ने बित्तिकै माओवादीलाई भोट नहाल्ने भनेर अड्डी कसेर बसेका कांग्रेस कार्यकर्ताको मन र पुत्रीमोहलाई निस्तेज पार्न भन्दै चरम असन्तुष्टिमा रहेका माओवादी कार्यकर्ताको मन फर्किएला ? ‘उनीहरुको मन फर्किन निकै कठीन छ ।’ माओवादीका एक स्थानीय नेताले बिजशालासँग भने–‘एकदिन आएर फकाउँदैमा फकिने सोझा कार्यकर्ता छैनन् यो जमानामा, के ठीक, के बेठीक भन्ने छुट्याउनसक्ने क्षमता सबैमा छ ।’ 

त्यसो त देउवाको कार्यकर्ता थामथुम पार्ने योजना समेत सफल हुने छाँट छैन, कारण भरतपुरमा रामचन्द्र पौडेल र कृष्ण सिटौला निकटका नेता तथा कार्यकर्ता कुनै पनि हालतमा देउवाको रणनीति असफल पारेरै छाड्ने रणनीतिमा अडिग छन् । सिटौला पक्षका उम्मेद्वारलाई तालमेलको नाममा शहीद बनाइनुुले समेत निकै ठूलो रोष प्रकट गरेको छ । यसरी हेर्दा, देउवा र प्रचण्डको भरतपुर दौडधूपले समेत स्थानीय अवस्थामा आमूल परिवर्तन गर्ला भन्ने अवस्था छैन ।