काठमाण्डौ । नेपाल–चीनको संयुक्त लगानीमा सञ्चालित हिमालय एअरलाइन्सले शनिवारदेखि श्रीलंकाको कोलम्बोका लागि समेत सिधा हवाई सेवा सुरु गरेको छ । 

यस्ता छन् आगामी योजना
-५ वर्षभित्र १५ एयरबस ल्याउने
-लामो दुरी उडान भर्ने जहाजबाट जापान, कोरिया, युरोप, अष्ट्रेलिया र अमेरिकासम्म सेवा संचालन
-केही महिनापछि नै दिल्ली, याङ्गोन, दमाम, लगायत बेइजिङ, ल्हासा, चेंगदु, बैंकक, हङकङ र दुवई उडानको सुरुवात

 

एयरलाइन्सको यो सेवाले नेपाल र श्रीलंकाबीच पर्यटन प्रवद्र्धन, व्यापार बिस्तार र दुई देश्बीच बीच सुमधुर सम्बन्ध कायम गर्न पनि मद्धत पुग्ने विश्वास गरिएको छ । 

समयतालिकाअनुसार विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाण्डौबाट ११ः३० बजे (स्थानीय समय) उडेर १५ः०३ बजे (स्थानीय समय)मा कोलम्बोस्थित बन्दरा नाइके अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । 

हप्ताको २ दिन उडानसँगै हिमालय एअरलाइन्सले २८ वर्षपछि नेपाल र श्रीलंकाबीच पुनः हवाइ सेवा सुरु गरेको हो । पहिलो उडानमा यात्रुहरुसँगै नेपालका लागि श्रीलंकाका राजदूत डब्ल्यू एस पेरेरा र श्रीलंका उद्योग वाणिज्य महासंघका महासचिव अजित डी पेरेरा पनि सवार थिए । 

हिमालय एयरलाइन्सका भाइस प्रेजिडेन्ट विजय श्रेष्ठले कोलोम्बोमा सञ्चालन गर्न  लागेको उडानलाई आफूहरुले अर्को कोशेढुंगा मानेको बताए । उनले हिमालय एयरलाइन्स मात्र काठमाण्डौ श्रीलंका रुटमा सेवा संचालन गर्ने पहिलो एयरलाइन्स समेत भएको दाबी गरे । नियमित उडानबाट दुई देशका व्यापारी र पर्यटकहरुको आदानप्रदान हुने र दुवै देशलाई फाइदा पुग्ने उनको अपेक्षा छ । 

उनका अनुसार काठमाण्डौ कोलम्बो उडान हरेक साताको मंगलबार र शनिवार हुनेछ । 

अगष्ट २०१४ मा स्थापित हिमालय एअरलाइन्स्ले जेठ १८, २०७३ देखि कतारको दोहामा उडान गरेर आफ्नो पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक उडानको सुरुवात गरेको थियो । 

केही महिनापछि एयरलाइन्स्ले दिल्ली, याङ्गोन, दमाम, लगायत बेइजिङ, ल्हासा, चेंगदु, बैंकक, हङकङ र दुवईमा पनि उडान गर्ने योजना बनाएको छ ।

हिमालय एअरलाइन्स्ले आगामी पाँच वर्षभित्र १५ वटा एअरबस ल्याएर काठमाण्डौबाट  एसियाका विभिन्न गन्तब्य तथा अन्य मुलुकका विभिन्न शहरहरुमा उडान सञ्चालन गर्ने योजना समेत अगाडि सारेको छ । 

एअरलाइन्स्ले केही समयपछि नै लामो दुरी उडान भर्ने जहाज ल्याएर जापान, कोरिया, युरोप, अष्ट्रेलिया र अमेरिकाका लागि पनि उडान भर्ने योजना बनाएको श्रेष्ठले जानकारी दिए । 

संयुक्त लगानीमा सञ्चालित यस एअरलाइन्स्को ४८.९९ प्रतिशत लगानी तिब्बत एअरलाइन्सको छ भने ५१.०१ प्रतिशत लगानी नेपाली व्यवसायीको छ ।