काठमाण्डौ । हुलास स्टिलले आज (शुक्रबार) रक्तदान कार्यक्रम आयोजना गरेको छ। कम्पनीले स्थापना दिवसको अवसरमा स्वर्गीय दिवाकर गोल्छाको स्मरणमा रक्तदान कार्यक्रम आयोजना गरेको हो।

कम्पनीले काठमाण्डौ उपत्यका र उपत्यका बाहिर गरी २ ठाउँमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो। उपत्यकाभित्र कम्पनीकै कार्यालय काठमाण्डौको गणबहालमा गरिएको रक्तदानमा २५ जना रक्तदाताहरुले रक्तदान गरेका छन्। 

त्यस्तै कम्पनीको सिमरा फ्याक्ट्रीमा गरिएको रक्तदानमा १७० जना भन्दा बढी रक्तदाताहरुले रक्तदान गरेका छन्। कम्पनीले रक्तदान गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेको छ। 

सोही अवसरमा दिवाकर गोल्छा फाउन्डेसनले भक्तपुर क्यान्सर अस्पताल र आरोहण गुरुकुललाई आर्थिक सहयोगसमेत गरेको छ। फाउन्डेसनले भक्तपुर क्यान्सर अस्पताललाई सहयोग बापत ५ लाख ३ हजार ८ सय ४७ रुपैयाँ र आरोहण गुरुकुललाई ९६ हजार ७ सय ५ रुपैयाँ बराबरको रकम प्रदान गरेको हो। 

नेपालमा पहिलोपटक गुणस्तरीय जस्तापाताको प्रयोगद्वारा खरको छानाहरुमा हुने आगलागीको जोखिम र जीवन क्षतिबाट सुरक्षा गर्ने उद्देश्यले हुलास स्टिलको स्थापना भएको थियो।