काठमाण्डौ । स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडले कुइक रेस्पोन्स कोड (क्यूआरसी) भुक्तानी प्रणाली स्मार्ट क्यूआर सञ्चालनमा ल्याएको छ। विभिन्न प्रकारका भुक्तानी सेवा र सुविधाहरुको प्राप्तिमा अनलाइन भुक्तानीलाई अझ आधुनिक, सहज र एकीकृत गर्न सक्ने गरी यो स्मार्ट क्यूआर सञ्चालनमा ल्याइएको बताइएको छ।

नेपाल राष्ट्र बैंकको नगदरहित कारोबारलाई बढावा दिँदै वित्तीय कारोबार अघि बढाउने नीतिअनुरुप विभिन्न बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवाप्रदायक संस्थाहरुलाई विश्वस्तरीय, सुरक्षित सेवा प्रदान गर्न यो प्रणाली सक्षम रहेको स्मार्ट च्वाइस टेक्नोलोजिजका निमित प्रमुख कार्यकारी अधिकृत दिपेश मास्केले बताए। मुलुकको समग्र डिजिटल इको सिस्टमको विकासमा योगदान गर्ने कम्पनीको नीति र प्रतिबद्वताअनुसार यो सेवा सञ्चालनमा ल्याइएको उनले जानकारी दिए। 

परम्परागत प्रणालीलाई विस्थापित गर्दै नगदरहित आधुनिक भुक्तानी प्रणालीको विकास र प्रवद्र्धन गर्ने कम्पनीको लक्ष्य रहेको बताइएको छ। स्मार्ट क्यूआरको प्रयोगबाट छिटो, मितव्ययी र सरल ढंगले क्यूआर कोड स्क्यान गरी विविध आवश्यकताबमोजिम सेवा र सुविधाको उपयोग गर्न सजिलो हुने कम्पनीले जनाएको छ। 

विशेषतः यस क्यूआरसी भुक्तानी प्रणालीबाट आबद्घ भएका बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवाप्रदायक संस्थाहरुले ईएमभीको स्ट्यान्डर्ड स्ट्याटिक वा डाइनामिक क्यूआर कोड जेनेरेट गरी स्वदेशी तथा विदेशी क्यूआर भुक्तानी सेवाहरुका बीचमा पनि सहजै कारोबार गराउन सक्ने कम्पनीले जनाएको छ। 

स्मार्ट क्यूआरको सञ्चालनमा आईएमईपे, प्रभुपे, क्यूपेजस्ता स्वदेशी भुक्तानी सेवा प्रदायक र अन्तर्राष्ट्रिय संस्था युनियनपे इन्टरनेसनलको समेत सहकार्य तथा साझेदारी रहेको कम्पनीले जनाएको छ। 

आगामी दिनमा यस प्रकारको सेवा प्रदान गर्ने स्वदेशी तथा विदेशी संस्थाहरुको अधिक संलग्नता गराउँदै यसको पहँुचलाई अझै विस्तार गर्दै लैजाने लक्ष्य लिइएको कम्पनीले जनाएको छ। राष्ट्रको भुक्तानी प्रणालीको डिजिटाइजेसन प्रक्रियामा आफ्ना ग्राहकलाई आधुनिक सेवा प्रदान गर्न कम्पनी सधैँ अग्रसर रहने बताइएको छ।