काठमाण्डौ । हस्तकलाका वस्तुहरुको निर्यात प्रवर्द्धनका लागि नेपाल चेम्बर अफ कमर्स र नेपाल हस्तकला महासंघबीच सहकार्य हुने भएको छ। 

व्यापार घाटा न्यूनीकरण र नेपालको अन्तर्राष्ट्रिय पहिचानका लागि हस्तकलाका सामग्रीले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै चेम्बर र महासंघले निर्यात प्रवर्द्धनमा सहकार्य गर्न लागेका हुन्। चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले हस्तकलाको निर्यात सहजीकरण, कच्चा पदार्थमा सहकार्य, भन्सारमा देखिएका जटिलता हटाउन महासंघसंग हातेमालो गरेर अघि बढ्ने बताए। 

महासंघका नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई जमलस्थित चम्बर भवनमा सोमबार स्वागत गर्दै अध्यक्ष मल्लले नेपालका हस्तकलाका वस्तुहरुको अन्तर्राष्ट्रिय प्रदर्शनी एवं मेलामा सहभागिताका लागि आफुले सक्दो पहल गर्ने बताए। उनले भने, ‘चरम व्यापार घाटा न्यूनीकरणका लागि वर्तमानको एउटै विकल्प भनेको हस्तकलाका सामानहरुको अन्तर्राष्ट्रियकरण गरेर निर्यात प्रवर्द्धन गर्नु नै हो।’ 

हस्तकलाका उद्योगले व्यापक मात्रामा रोजगारी सिर्जना गर्नुका साथै सीप, कला कैशलका माध्यमबाट संस्कृतिको संरक्षण र सम्र्वद्धनमा ठूलो सहयोग गर्दै आएको मल्लले बताए। 

अमेरिका, अधिकांश युरोपेली मुलुक, जापान, चीन, भारत, कोरिया लगायत एसियाली मुलुकमा समेत नेपाली हस्तकलाका सामान निर्यात भइरहेको भन्दै अध्यक्ष मल्लले राज्यबाट सहुलियत प्राप्त हुने हो भने आर्थिक रुपमा धेरै लाभ लिन सकिने बताए। हस्तकलाका सामान निर्यातका क्रममा भन्सार सहजीकरण, व्यवसायीलाई राहत उपलब्ध गराउन तथा अन्य नीतिगत सुधारका लागि आफूले पहल गर्ने उनको भनाइ छ। 

महासंघका अध्यक्ष प्रचण्ड शाक्यले आफूहरुले उत्पादन गरेका हस्तकलाका वस्तुहरुको निर्यातका लागि भन्सार लगायतका ठाउँमा विभिन्न नीतिगत समस्या रहेको सुनाए। निर्यात गर्ने व्यवसायीलाई सरकारले राहतको व्यवस्था गरे पनि बास्तविक व्यवसायीले पाउन नसकेको शाक्यले गुनासो गरे। 

निर्यात सहजीकरण गरिदिन शाक्यले नेपाल चेम्बर अफ कमर्ससंग आग्रह गरे। जबाफमा अध्यक्ष राजेन्द्र मल्लले हस्तकलाका वस्तुहरुको निर्यात प्रर्वद्धनका लागि आफुले सक्दो पहल गर्ने बताए। आगामी बजेटअघि नै नीतिगत सुधारका लागि सरकारसँग पहल गर्ने चेम्बर र महासंघबीच समझदारीसमेत भएको छ।