काठमाण्डौ । करको दर र दायरा बढाएर उद्योगी व्यवसायीहरुबीच सर्वाधिक आलोचित अर्थमन्त्री डा. युवराज खतिवडाले निर्यात प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलिरहेका हस्तकला उद्यमी र व्यवसायीहरुको अदृश्य कारोबारप्रति प्रश्न उठाएका छन्।
उनले विदेश निर्यात भएको हस्तकलाको आधिकारिक तथ्याङ्क हेर्दा निकै सानो भए पनि कारोबार भने भित्रभित्रै निकै ठूलो हुने गरेको दाबी गर्दै यसलाई समेत औपचारिक कारोबार र करको दायरामा ल्याइने संकेत गरेका हुन् ।
‘हस्तकलाको निर्यात अंकमा हेर्ने हो भने त्यति ठूलो होइन, ५–६ अर्बको निर्यात ठूलो कुरा देखिएन रेकर्डमा ।’ नेपाल हस्तकला महासंघको आयोजनामा बिहीबारदेखि सुरु १७ औं हस्तकला व्यापार मेला तथा १५ औं हस्तकला प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले भने–‘तर हामीले जुन किसिमको कारोबार गरिरहेका छौ, हाम्रो तथ्याङ्कले त्यसलाई प्रतिबिम्बित गरेको छैन ।’
हस्तकला क्षेत्रमा उत्पादित सामानहरुको अदृश्य कारोबारलाई सरकारले नियन्त्रण गर्न खोजेको स्पष्ट संकेत समेत गरे । ‘अदृश्य रुपमा हुने हाम्रो निर्यातलाई हेरेर हाम्रो निर्यातहरु कहाँ कति के भइरहेको छ भन्ने विषयमा नेपाल सरकारले अध्ययन अगाडि बढाइसकेको छ ।’ उनले थपे–‘पर्यटकहरुले आफूसँगै लिएर जाने सामान, कुरियरबाट पठाउने समान, कोशेलीमा कसैले लिएर जाने सामान, नेपालीले देशबाहिर लिएर जाने सामान, हामीले विदेशीहरुलाई घरभित्रै दिने कोशेलीका सामानहरु, यी प्राय सबै नेपाली हस्तकलाका सामानहरु हुने गरेका छन् । त्यसरी हेर्ने हो भने हाम्रो हस्तकलाको उत्पादन, बिक्री र निर्यात पनि अहिले सोचेको भन्दा धेरै ठूलो छ ।’
उनले कोशेलीको रुपमा विदेश निर्यात हुने सामानमा समेत कर लाग्नसक्ने सो क्रममा संकेत गरेका छन् ।
उनले नेपालको हस्तकला निर्यातमा अपार संभावना रहेको उल्लेख गर्दै सरकारले त्यस्ता उद्योगहरुलाई प्रवद्र्धन गर्ने नीति बजेटमै पनि समेटेको दाबी गरे । सरकारले हस्तकला उद्योगको प्रवद्र्धनका लागि केही काम अगाडि बढाएको र केही काम अगाडि बढाउन बाँकी रहेको प्रष्ट्याए ।
हस्तकला व्यवसायलाई अगाडि बढाउन सीप र उद्यमशीलता विकास आवश्यक रहेकामा जोड दिंदै अर्थमन्त्री खतिवडाले जोखिम लिनसक्ने आँट उद्यमीहरुलाई दिलाउने वातावरण समेत बनाइने र पूँजी, बजार, प्रविधिको सुनिश्चितताका लागि हरसंभव सहयोग गर्ने वचन दिए ।
उनले हस्तकला व्यवसायीहरुको असन्तुष्टिको सरकारले सम्बोधन गर्ने उल्लेख गर्दै स्पष्ट खाका, लक्ष्य र कार्ययोजनासहित छलफलमा अर्को साता नै आउन आह्वान गरे । ‘आगामी साता नै एउटा खाका र लक्ष्यसहित आउनुहोस्, छलफल गर्न म तयार छु । सरकारले दिने प्रोत्साहन र अनुदान कुन कुन ठाउँमा दिनुपर्छ, हामी छलफल गर्न तयार छौ ।’ उनले थपे–‘कति निर्यात गर्न सक्छौ, एउटा वार्षिक लक्ष्य बनाऔंं, अहिलेको भन्दा उच्च लक्ष्य बनाऔं । सरकारले के गर्ने, उद्यमीले के गर्ने, बजारीकरण कसरी गर्ने ? त्यसमा तपाईहरुको छाता संगठनहरुले के गर्ने ? हेरौं । कार्ययोजनासहित बसे मात्र ठोस निश्कर्षमा पुग्न सकिन्छ । सार्वजनिक आह्वान नै गरेको छु निकै नै महत्वकांक्षी वार्षिक लक्ष्य लिएर आउनुहोस्, हामी यसमा सहकार्य गर्न तयार छौ ।’
उनले हस्तकलाजन्य उद्योगलाई आवश्यक अनुदानको व्यवस्था गर्न समेत सरकार तयार रहेको बताएका छन् । ‘उत्पादनको प्रक्रियामा अनुदान हो कि, कच्चा पदार्थ, प्रशोधन वा निर्यातको विन्दूमा अनदान हो कि । मूल्यअभिवृद्धिको कुनै अवस्थामा अनुदान हो कि प्रष्ट पार्नुहोस्, हामी तयार छौ।’ उनले भने–‘तपाई हामी मिलेर अहिले २५ प्रतिशतले बढेको निर्यात टिकाउन आवश्यक, यसको आधार फराकिलो बनाउन आवश्यक छ । चाँडै अहिलेको वृद्धिदर डबल बनाउन आवश्यक छ।’
उनले पछिल्लो समय नेपालमा अन्तराष्ट्रिय क्षेत्रको आकर्षण तथा आगमन ह्वात्तै बढेको उल्लेख गर्दै उनीहरुलाई हस्तकलाको प्रदर्शनीकक्ष देखाउन सके त्यसबाट समेत हस्तकलाजन्यको प्रवद्र्धन हुने बताए । ‘पछिल्लो २ महिनामै झण्डै १०० वटा बढी मुलुकका मान्छेले सेमीनार र गोष्ठीमा भाग लिन नेपाल आएका देखिएको छ । एउटै कार्यक्रममा ९०० सम्म विदेशी पाहुना आएका छन् ।’ उनले भने–‘हाम्रो प्रदर्शनी कक्ष छ, त्यहाँ जाऔं भनेर घुमाउन सकिएको छैन । ती हाम्रा संभावित ग्राहक हुनसक्थे । बजारीकरण गर्ने माध्यम हुनसक्थे । भ्रमण वर्षको अवसरमा हाम्रा हस्तकलाको सामाग्रीको प्रदर्शनीकक्ष अस्थायी रुपमै भए पनि राख्नुपर्छ । यहाँ परतिर टुरिजम बोर्ड छ, उहाँहरुसँग पनि सहकार्य गर्दैछौ । अस्थायी संरचना बनाएरै भए पनि हामी त्यसतर्फ जानुपर्छ । यसमा अर्थमन्त्रालय सहयोग गर्न तयार छ ।’
उनले, तीन दिनपछि सुरु हुने साफ गेममा ५ हजार बढी विदेशी खेलाडी र पदाधिकारीको आगमन हुने र रंगशालाको एउटा कुनामा हस्तकलाको सानो प्रदर्शनीकक्ष राख्न सकिने भन्दै त्यसका लागि तयार रहन व्यवसायीलाई आग्रह गरे ।
उनले निजी क्षेत्रले उद्यम गर्न पूँजी अभावको समस्या देखाउने गरेको भए पनि साना र मझौला उद्यम गर्न पूँजीको अभाव नरहेको जिकिर गरे ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago