काठमाण्डौ । तपाइँसँग शैक्षिक योग्यता र काम गर्ने दक्षता छ तर रोजगारी पाउनुभएन ? अब नआत्तिनुहोस् ! तुरुन्तै ‘हायर मी नेपाल’ एप डाउनलोड गर्नुहोस्। तपाइँले खोजेको वा चाहेको रोजगारी तुरुन्त पाउनुहुनेछ। 

हायर मी नेपाले आज (असोज १ गते) बाट यो एप सार्वजनिक गरेको छ। रोजगारदाता र रोजगारी खोज्ने दुवैका लागि एउटै प्लेटफर्ममा सम्पर्क गराउने उद्देश्यले हायरमी नेपालको अनलाइन वेबसाइट सञ्चालनमा आएको हो।

हायर मी नेपाल परियोजना नेसनल एकेडेमी फर फाइनान्सियल सर्भिसेज प्रालिले सञ्चालन गरेको हो। संस्थाका अध्यक्ष रमेशकुमार भट्टराईले परियोजना सञ्चालनको दुई महिनाको अवधिमै रोजगारी दिने कम्पनी तथा रोजगारी खोज्ने व्यक्तिहरुबाट रजिस्ट्रेसनमा राम्रै रेस्पोन्स आएको बताए। ‘अब एप नै प्रारम्भ भएको छ, अब त व्यक्तिगत प्रयोगकर्तालाई गुगल प्लेस्टोरबाट डाउनलोड गरी विज्ञापनहरु हेर्न, कम्पनीहरुमा सम्पर्क गर्न, सम्पर्कपछि अन्तर्वार्ता दिन तथा निर्धारण गर्न धेरै सजिलो हुनेछ’, उनले भने।

यो पोर्टलमा रोजगारी खोज्नेहरुका लागि २४ वटा क्षेत्र समावेश गरिएका छन्। उनीहरु चाहेको क्षेत्रमा रोजगारीका लागि रजिस्ट्रर्ड हुन सक्नेछन्। 

पोर्टलमा विभिन्न पत्रिकामा प्रकाशित रोजगारसम्बन्धी विज्ञापनहरु पनि हेर्न सकिने अध्यक्ष भट्टराईले बताए। 

यसैगरी रोजगारदाता कम्पनीहरुले पनि उम्मेदवारहरुलाई सोझै सम्पर्क गर्न सक्नेछन्। उम्मेदवारहरु अन्तर्वार्ता लिन सक्ने सुविधा पनि उपलब्ध गराइएको हायर मी नेपालले जनाएको छ। 

अध्यक्ष भट्टराईका अनुसार अब छिटै जनशक्ति व्यवस्थापन तथा उम्मेदवारले दिने अन्तर्वार्तामा दक्ष बनाउने गरी आवश्यक टिप्स तथा सामग्री यसैबाट हेर्न सकिने गरी उपलब्ध गराउन लागिएको छ। ‘यो डिजिटल प्लेटफर्म र एप निःशुल्क रुपमा प्रयोग गर्न सकिनेछ’, उनले भने।

यो परियोजनाअन्तर्गत अबको दुई वर्षमा ५ लाख व्यक्ति र कम्पनीलाई रजिस्टर्ड गर्न लगाई ५० हजारलाई रोजगारीको सुविधा उपलब्ध गराउने लक्ष्य लिइएको समेत अध्यक्ष भट्टराईले जानकारी दिए।