काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत काठमाण्डौको बूढानीलकण्ठको हेपाली हाइटस्थित काठमाण्डौ इन्सटिच्युट अफ चाइल्ड हेल्थलाई आज काठमाण्डौमा बाल अस्पताल निर्माण गर्नका लागि रुपैयाँ २० लाख रुपैयाँको आर्थिक सहयोग प्रदान गरेको छ। 

सन् २०१७ सालमा स्थापना भएको काठमाण्डौ इन्सटिच्युट अफ चाइल्ड हेल्थ एक गैरनाफामूलक संस्थाका रुपमा सबैका बाल–बच्चाका लागि सुलभ मूल्यमा सहज ढंगले उच्च गुणस्तरको बाल स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्यका साथ अग्रसर रहेको छ। सो संस्थाले दमकमा पनि बाल अस्पताल सञ्चालनमा ल्याइ सेवा प्रदान गरेको छ। 

उक्त संस्थाको सत्कर्मलाई आत्मसाथ गर्दै आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आर्थिक सहयोग प्रदान गरिएको बैंकले जनाएको छ। बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशमशेर राणाले उक्त संस्थाका अध्यक्ष प्राडा भगवान कोइरालालाई उक्त रकम बैंकका अन्य वरिष्ठ पदाधिकारीहरुको उपस्थितिमा एक समारोहका बीच हस्तान्तरण गरेका हुन्।